बाँके । मंसिरको महीना भन्नेबित्तिकै धेरैलाई लगनको याद आउँछ । मंसिर विवाहको मौसममात्र होइन, फेस्टिबलको सही समय पनि हो । मंसिर महीना नजिकिँदै गर्दा बाँकेका विभिन्न ठाउँमा मेला महोत्सवहरु सञ्चालन हुन थालेका छन् । न्यानो घाममा चिसो भुलाउने उत्सव र महोत्सवहरु सुरु भएका छन् । नेपालीले भर्खरै ठूला चाडवाडलाई बिदा गरेसँगै सामाजिक, सांस्कृतिक र आर्थिक विषयसँग जोडिएका उत्सव महोत्सवको क्रम बढेको छ ।
निजी क्षेत्रबाट हुन थालेका यस्ता महोत्सवले देशको सांगीतिक, सांस्कृतिक तथा विविध विषयमा जानकारी गराउँदै दर्शक/स्रोतालाई मनोरञ्जन पनि प्रदान गरिरहेका छन् । यस्ता उत्सव महोत्सव बाँकेमा पनि सुरु भएका छन्, कतै सुरु हुँदैछन् । बाँकेको बैजनाथ गाउँपालिका–५ को रामपुरमा कात्तिक पूर्णमामा लाग्ने पेडारी मेला पनि आज मंगलबारदेखि सुरु भएको स्थानीयबासी शान्तकुमार विकले जानकारी दिए ।
दुई दिनसम्म चल्ने पेडारीमा मेलामा ऐतिहासिक तथा परम्परागत लोक नृत्य, सिङ्गारु नाच, लोकदोहोरी लगायतका लोक संस्कृतिको संरक्षणका लागि विभिन्न प्रस्तुतिहरु राख्ने गरिन्छ । संस्कृति संरक्षणका लागि परम्परादेखि चल्दै आएको पेडारी मेला आर्थिकरूपमा पनि जोडिएको छ । जहाँ स्थानीय कृषकहरुले आफ्ना उत्पादनहरु विक्री वितरण गरेर आर्थिक लाभ पनि लिन सक्छन् ।
लोक संस्कृति जोगाउन अभियान
नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोकसंस्कृति बोकेका परम्पराहरु संकटमा पर्न थालेका छन् । उदाउँदो युवापुस्ता लोक संस्कृतिप्रति जिम्मेवार नबन्दा हाम्रा मौलिक गाथा बोकेका संस्कृति लोप हुने अवस्थामा पुगेका हुन् । यतिमात्रै होइन, नेपाली समाजमा पाश्चात्य संगीतको प्रवेश भएसँगै स्थानीय स्रोत–साधनको प्रयोग गरेर निर्माण गरिएका बाजा पनि लोप हुने संघारमा पुगेका छन् ।
नेपाली लोक संगीत र संस्कृतिले हाम्रो पहिचान झल्काउने काम गरेका हुन्छन् । जसलाई हेर्नको लागि विदेशी पर्यटक हरेक वर्ष नेपाल भ्रमणमा आउने गरेका छन् । विश्वसामु नेपालीको पहिचान दिलाउने लोक संस्कृति र संगीत लोप हुन थालेपछि हाम्रो पहिचान संकटमा पर्न थालेको छ । पर्यटकलाई मनोरञ्जनका साथै नेपाली पहिचानको बारेमा जानकारी दिनको लागि हाम्रो लोक संस्कृतिले ठूलो भूमिका खेलेका हुन्छन् ।
हाम्रा लोक संस्कृति, ऐतिहासिक परम्परा र लोक संगीत नै संकटमा पर्न थालेपछि सर्वत्र चासो र चिन्ता छाउन थालेको छ । लोक संस्कृति जोगाउन भन्दै बाँकेका युवाहरुको एउटा टोलीले अभियान नै चलाएको छ । ‘चोक चोतारी’ नाम दिएर सुरु गरिएको अभियानले स्थानीय कला संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने अभियानका संयोजक निरज निश्चलले बताए ।
उनले भने, ‘नेपाल लोक संस्कृतिको धनी मुलुक हो । नेपाली लोक संस्कृतिको छुट्टै पहिचान र महत्व रहेको छ । त्यसैले लोक संस्कृतिको दृष्टिले नेपाल संसारकै धनी हो । तर, पछिल्लो समय लोकगीतमा समेत छाडापन भित्रिएको छ । लोकगीतको आफ्नै मौलिकता रहेको छ । त्यसैले यसलाई कसैले भुल्नहुँदैन । यसैले हामीले अभियान नै सुरु गरेर लोक संस्कृतिको जगेर्ना गर्न सचेतना जगाउँदै हिँडेका छौं ।’
लोक संस्कृतिको जगेर्ना गर्न सुरु गरिएको अभियान अन्तरगत उनीहरुले स्थानीय स्तरमा लोप हुन थालेका गीत तथा नृत्य लगायतका विषयमा स्थानीय स्तरमै गएर सुटिङ्ग गरेर कार्यक्रम उत्पादन तथा टेलिभिजनमार्फत प्रशारण गरिरहेको कार्यक्रमका संयोजक निश्चलले बताए । अभियान अन्तरगत उक्त टोलीले बाँकेको बैजनाथ गाउँपालिका–५ को रामपुरमा कात्तिक पूर्णमामा लाग्ने पेडारीमा मेलामा कार्यक्रम उत्पादन गरेको संयोजक निश्चलले बताए ।
निरज सिंह ।