सूचनाको शक्ति - The Power Of Information

        

मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिँदै, प्रधानमन्त्रीको मुख्य सल्लाहकार बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चाहनामा प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदवाट राजीनामा दिने भएका छन् । तत्कालिन सभामुख कृष्णबहादुर महराको संघीय संसदको उमेद्वारी छोडी प्रदेश ससंदमा चुनाव लडेर प्रदेशका मुख्यमन्त्री भएका पोखरेल करिव दुई बर्षपछि मुख्यमन्त्री पदबाट राजिनामा दिएर फेरि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकार भएर आउने भएका छन् ।

पोखरेल प्रदेश नम्वर ५ मा खुम्चिदा टिम अनि सरकार कमजोर भएको आँकलन गर्दै उनलाई प्रमको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काठमाडौं ल्याउने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन् । पोखरेल राजिनामा दिएर काठमाडौं आउँदै गर्दा प्रदेश नम्वर ५ मा पूर्व माओवादीका कुलप्रसाद मुख्यमन्त्री वन्ने छन् । वैचारिक रुपमा पोखरेल ओलीको सबैभन्दा निकट मानिन्छन् । तर नेकपाकै महासचिव बिष्णु पौडेलको समेत डिजाइनमा महराका लागि उनलाई संघीय संसदमा आउन नदिई प्रदेशमा मुख्यमन्त्री बनाइयो ।

आफ्ना सुरुदेखिका बैचारिक सहयोद्धा पोखरेलको यतिखेर ओलीले सबैभन्दा बढी खाँचो महशुस गरेका छन् । जस्तोसुकै अवस्थामा पनि पोखरेलले ओलीलाई नछोडेका कारण पनि उनलाई ओलीले संकटमा फेरि सम्झिएको वालुवाटार स्रोतको दावी छ । पोखरेल विद्यार्थी कालदेखिनै ओली पक्षमा रहेका थिए । उनी ओलीका खम्वाका रुपमा चिनिन्छन् । महासचिव पौडेल भने माधव नेपाल पावरमा हुन्जेल उनका निकट र झलनाथ आउँदा झलनाथका निकट थिए । ओली पावरमा आएपछि उनी निकट भए । स्रोतका अनुसार पौडेल हाल अर्का अध्यक्ष प्रचण्डसँग निकट हुन थालेका छन् ।

नवौ महाधिवेशनबाट शंकर पोखरेललाई नेतृत्वमा पुग्न नदिन उनले अर्को गुटका घनश्याम भुसालसँग साँठगाँठ गरेको पनि ओली वृत्तमा चर्चा हुने गरेको छ । आर्थिकरुपमा समेत बदनाम रहेका पूर्व सुकम्बासी पौडेलजस्ता नेता केन्द्रमा हावी हुँदा सरकारसमेत वद्नाम हुँदै गएको पार्टीकै कार्यकर्ताहरु बताउँछन् । अरबौका मालिक पौडेल बालुवाटार जग्गाकाण्डमा पनि मुछिएकाले जनतामा उनको छवि दागैदागपूर्ण छ । आफ्ना सल्लाहकार र सहयोगी टीम पनि विभिन्न विवादमा मुछिएका र कार्यकर्तामाझ अलोकप्रिय भएपछि ओलीले पोखरेलजस्ता केहि नेताहरुलाई आफ्नो सल्लाकार तथा सचिवालयमा समेटने तयारी गरेको बुझिएको छ ।

पूर्व माओवादी केन्द्रले पाएको कर्णालीको मुख्यमन्त्रीबाट महेन्द्रबहादुर शाही पनि परिवर्तन भइ उनको ठाउँमा पूर्व एमालेबाट बनाइने गृहकार्य भएको छ । प्रदेश नं.७ र ३ मा समेत मुख्यमन्त्री फेरिने भएका छन् । प्रदेश २ मा राजपाको समर्थनमा नेकपाले मुख्यमन्त्री लिने अनि राजपालाई केन्द्रीय सरकारमा प्रवेश गराउने तयारीसमेत नेकपाको छ । सबै योजना अनुसार भए संघीय सरकारमै रहेको तथा प्रदेश नं.२ को सरकारमा नेतृत्व गरेको संघीय समाजवादीलाई वाहिरको बाटो देखाउने तयारी छ । मंसिर १४ को उपनिर्वाचन अगावै सवै काम सक्ने गरि काम भैरहेको तयारी वालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार ०७:०५