सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय र सुकुम्बासीबीच जग्गा विवाद, अतिक्रमण खाली गर्न विद्यालयको ३० दिने सूचना

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । गत बर्ष आदर्श मावि, राँझाले गायत्रीनगरस्थित विद्यालयको संरचना रहेको ठाउँ नजिकको खाली जग्गामा खेलकुद मैदान गराउन डोजर लिएर गयो । वरिपरि बसेका सुकुम्बासीले त्यहाँ खेलकुद मैदान बनाउन दिएनन् । टोली काम नगरी फर्कियो ।

यसअघि कैयौपटक विद्यालयका पदाधिकारीहरु आफ्नो जग्गा भन्दै जाँदा सुकुम्बासीहरुले लखेट्दै आएका थिए । विद्यालयले आफ्नो बताइरहेको जग्गामा द्वन्द्वकालमा बिस्थापितहरु आएर बसेपछि लफडा हुँदै आएको छ । विद्यालय र सुकुम्बासीबीच यो लफडा पुनः बल्झिएको छ । गायत्रीनगरको कित्ता नम्बर २, ३ र ८ को तीन विगाह ७ कठ्ठा १४ धुर जग्गा अहिले पनि सुकुम्बासीले अतिक्रमण गरिरहेका छन् ।

विद्यालयको नाममा लालपूर्जा भए पनि द्वन्द्वकालमा बसेकाहरुले अतिक्रमण छोड्न मानिरहेका छैनन् । सुकुम्बासीले अटेरी गरेपछि विद्यालयले जग्गा खाली गर्न पुनः सार्वजनीक सूचना जारी गरेको छ । ‘सुकुम्बासीका नाममा केही व्यक्तिहरुले घर टहरा बनाई जग्गा अतिक्रमण गरेर बसेका छन्,’ प्रधानाध्यापक प्रकाश आचार्य भने, ‘जग्गा अतिक्रमण गरेर बसेका कारण विद्यालयको भौतिक एवं सर्वपक्षीय विकासमा समस्या पैदा भएको छ ।’

सुकुम्बासीद्वारा अतिक्रमण गरिएको विद्यालयको जग्गा । फाइल तस्वीर

विद्यालय व्यवस्थापन समितिको कात्तिक २० गतेको निर्णय अनुसार २४ गतेदेखि लागु हुने गरी ३० दिने सूचना जारी गरिएको प्रअ आचार्यले बताए । उनका अनुसार तोकिएको अवधिभित्र पनि जग्गा खाली नगरेर अटेरी गरेमा प्रचलित कानून बमोजिम विद्यालयले कारबाही अघि बढाउने भएको छ । त्यस्तै विद्यालयको गयनपुरमा रहेको कित्ता नं. ४५ को एक विवाह ११ कठ्ठा र ४९ नम्बर कित्ताको १२ कठ्ठा १५ धुर जग्गा अहिले पनि अतिक्रमणमै परेको छ ।

विद्यालयको नाममा लालपूर्जा भए पनि द्वन्द्वकालमा बसेकाहरुले अतिक्रमण छोड्न नमानेको प्रअ आचार्य बताउँछन् । २०७१ सालको सर्वेक्षणअनुसार विद्यालयको जग्गामा ७१ घरधरी रहेका छन् । तीमध्ये १७ घरधुरीलाई गत बर्ष वडा कार्यालयको पहलमा अन्यत्रै स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका १७ घरधुरीले समेत हालसम्म अतिक्रमित जग्गा छाड्न नमानेको प्रअ आचार्यको भनाई छ ।

उनीहरुसँग जग्गाको कुनै प्रमाण नभए पनि अतिक्रमण हटाउन नसकिएको प्रअ आचार्यले बताए । २००९ सालमा घरगोठबाट शुरु भएको विद्यालयले २०१६ सालमा स्वीकृति पाएको थियो । विद्यालय बनाउन महत्वपूर्ण भूमिका खेलेका राममिलन बर्माले नै गाउँ पञ्चायत अध्यक्ष हुँदा २०३६ सालमा उक्त ऐलानी जग्गा विद्यालयलाई दिएका थियो । त्योसहित विद्यालयको नाममा नौ विगाह १८ कठ्ठा ५ धुर जग्गा दर्ता छ ।

सुकुम्बासीद्वारा अतिक्रमण गरिएको विद्यालयको जग्गा । फाइल तस्वीर

विद्यालयको मुख्य भवन राँझाचोकमै छ । त्यहाँ साँघुरो भएपछि केही संरचना २०४४ सालमा गायत्रीनगरमा बनाइएको थियो । २०५० सालमा ती संरचना चोरी भए । त्यसपछि विद्यालय पुरै चोककै भवनमा सीमित रह्यो । सशस्त्र द्वन्द्वका क्रममा विभिन्न ठाउँबाट आएका मानिसहरु खाली जग्गा देखेर त्यही बस्न थाले । बाँकेकै पुरानो विद्यालयमा पर्ने आदर्श माविले मल्टिपल क्याम्पसको अवधारणा अघि सारेको छ । जग्गाजति सुकुम्बासीले अतिक्रमण गरेपछि सफल हुन नसकेको प्रअ आचार्यले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार १३:४६