सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा फेरि पाटेबाघको आक्रमण, एक महिलाको ज्यान गयो

बाँके । पाटेबाघको आक्रमणमा परेर बाँकेको कोहलपुरमा एक महिलाको ज्यान गएको छ । कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ बर्षिया काली बस्नेतको पाटेबाघको आक्रमणमा परेर ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज (आइतवार) अपरान्ह ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटेबाघले आक्रमण गरेको थियो ।

दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटेबाघको आक्रमण परेर मृत भेटिएको कोहलपुर–१३ नयाँबस्तीका स्थानीयबासी निरकबहादुर शाहीले बताए । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा पाटेबाघको आक्रमण बढेको छ ।

यसअघि २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा चार जनाको मृत्यु भइसकेको छ । बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ । निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानव–वन्यजन्तु द्वन्द्व बढ्न थालेकाले स्थानीयबासी शाहीले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतवार १७:४९