सूचनाको शक्ति - The Power Of Information

        

योजना तर्जुमा प्रक्रियाका बारेमा जनप्रतिनिधिलाई प्रशिक्षण

बाँके । नेपालगन्ज उपमहानगरपालिकाका तीन वटा वडाका जनप्रतिनिधिलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियाका बारेमा प्रशिक्षण दिन थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १४, १५ र १६ का जनप्रतिनिधिलाई तीन दिने प्रशिक्षण दिन लागिएको वडा नं. १४ का वडाध्यक्ष ओमकारनाथ मिश्राले जानकारी दिए ।

जनप्रतिनिधिलाई स्थानीय तहमा योजना र बजेट कसरी तर्जुमा गर्ने, हतारमा योजना तर्जुमा गर्नुपर्दा आउने चुनौति, योजना छनौट र त्यसको आवश्यकता निर्धारण कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा योजना र बजेट तर्जुमा गर्दा ख्याल गर्नुपर्ने विषयहरुलाई पनि समेटिएको वडाध्यक्ष मिश्राले बताए ।

स्थानीय विकास प्रशिक्षण केन्द्र र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त आयोजनामा प्रशिक्षण सुरु गरिएको हो । तीन वटा वडाका ३० जना सहभागी रहेको प्रशिक्षण कार्यक्रममा स्थानीय विकास प्रशिक्षण केन्द्रका प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणले आगामी दिनमा आवश्यकताका आधारमा बस्तीस्तरबाट योजना छनौट थप सहज हुने वडाध्यक्ष मिश्राले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतवार १३:२७