सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगरपालिका–१ मा ‘एक घर एक करेसाबारी’ कार्यक्रम अलपत्र

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । गतबर्ष अभियानका रुपमा नेपालगन्ज उपमहानगरपालिका–१ ले सुरु गरेको ‘एक घर एक करेसाबारी’ कार्यक्रम अलपत्र परेको छ । पहिलो चरणमा साढे २०० घरबाट सुरु गरिएको ‘एक घर एक करेसाबारी’ कार्यक्रम अलपत्र हो ।

दुर्ई वर्षभित्र शतप्रतिशत घरमा अनिवार्यरुपमा करेसाबारी भइसक्नुपर्ने महत्वाकांक्षी योजना अघि सार्दै वडा कार्यालय आफैले गरेको निर्णय कार्यान्वयन गर्न सकेन । उक्त कार्यक्रमका नाममा खर्चिएको रकम पनि ‘बालुवा पानी खन्याए’सरह भएको छ । खर्च गरिएको भनिएको रकम वडा कार्यालयले सीमित व्यक्तिहरु पोस्नकै लागि मात्र खर्चिएको वडा कार्यालय स्रोतले जनायो ।

वडा कार्यालय स्रोतका अनुसार करेसाबारी नबनाउनेलाई वडाबाट दिने सिफारिस लगायतका सरकारी सुविधा रोक्ने निर्णय गरिएको भए पनि कार्यान्वयन शुन्य छ । २५० बढी घरमा करेसाबारी बनिसकेको दावी गर्ने वडाध्यक्ष प्रमोद रिजालले केही एनजिओकर्मीलाई पोस्नकै लागि महत्वाकांक्षी योजना अघि सारेको वडाबासीहरुको भनाई छ ।

नाम नखुलाउने सर्तमा एक जना वडाबासीले भने, ‘आधाजसो वडाबासीको तरकारी लगाउने जग्गा नै छैन, कसरी एक घर एक करेसाबारी बनाउन सम्भव छ ? के वडा कार्यालयले जग्गा नभएकालाई करेसाबारी बनाउन जग्गा दिन्छ ? आफ्ना नजिकका व्यक्तिलाई पोस्नकै लागि वडाध्यक्षले महत्वाकांक्षी र सफल हुनै नसक्ने योजना ल्याउनु भएको हो ।’

वडाध्यक्ष रिजालले कार्यक्रम सुरु गर्दा वडा नं. १ का सबै घरमा करेसाबारी बनाउँदा भारतीय तरकारीमा भर पर्नु नपर्ने समेत बताएका थिए । उनले सो समयमा करेसाबारी कार्यक्रमले जग्गा खाली नभएको समेत बताएका थिए । बुझ्नेहरुका लागि उनको भनाईले ‘आधाजसो वडाबासीलाई करेसाबारी बनाउने जग्गा छैन’ संकेत भन्नेतर्फ गर्दथ्यो ।

करेसाबारी कार्यक्रमसँगै वडा कार्यालयले बीउ वितरण तथा जैविक मल बनाउन समेत सिकाएको थियो । तर अहिले सबैका घरमा न करेसाबारी छ, न सीप अन्यत्रै काम लागेको छ । न्यूनतम् रकममा कार्यक्रम सञ्चालन गरेर वडाध्यक्षले आफ्ना नजिकका कार्यकर्ता र केही एनजिओकर्मीलाई पोस्नमै ठूलो रकम खर्च खर्चिएको वडाबासीहरुको दावी छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रिजालले वडा नं. १ लाई तरकारीमा नमुना बनाउने गरी काम गरिरहेको बताए पनि उपलब्धी भने शुन्य देखिएको छ । करेसाबारीका लागि जग्गा नभएका परिवारका लागि कौसीमा करेसाबारी कार्यक्रम पनि वडा कार्यालयले ल्याइएको थियो ।

कौसीमा तरकारी खेती भने केही महँगो विधि भएको भन्दै अन्तिम समयमा त्यो कार्यक्रम पनि सफल देखिएन । कृषिविज्ञका रूपमा हेमराज पोखरेल र विन्दु सापकोटालाई नियुक्तसमेत गरिएको थियो । ‘पूर्वतयारी बिना कार्यकर्ता पोस्नकै लागि ल्याइएको महत्वाकांक्षी कार्यक्रम असफल भयो,’ एक जना वडाबासीले भने ।

‘एक/दुई वर्षमै वडाबासीले अन्यत्रको तरकारी किन्नु नपर्ने दावी गरिएको कार्यक्रमले वडाध्यक्ष नजिकका सीमित कार्यकर्ता र केही एनजिओकर्मीबाहेक वडाबासीका लागि उपलब्धीपूर्ण भएन,’ नाम नखुलाउने शर्तमा अर्को स्थानीयले भने । यस विषयमा बुझ्नका लागि वडाध्यक्ष रिजालको मोवाइल नम्बर ९८४८०२४७०८ मा दुई पटक सम्पर्क गर्न खोज्दा पनि उनको फोन उठेन ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार १३:०२