सूचनाको शक्ति - The Power Of Information

        

२०७७ को पात्रोबाट असोज महिना हटाउने मन्त्रिपरिषदकै निर्णय कार्यान्वयन भएन

काठमाडौं । गोरखाका हरिनारायण मल्ल पेशाले अवकाशप्राप्त इञ्जिनियर हुन् । मल्लको वर्तमान पहिचानचाहिँ पर्व एवं पात्रो सुधार अभियन्ताका रुपमा स्थापित छ । सरकारले गठन गरेको ‘पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति’मा रहेर योगदान गरेका मल्लले वार्षिक क्यालेण्डरबाट एउटा महिना हटाउन लविङ गर्दै आएको धेरै वर्ष बितिसकेको छ ।

सरकारले पात्रो परिवर्तन नगरे पनि हरिनारायणले आफ्नो व्यवहारमा परिवर्तित पात्रो लागू गरेका छन् । उनी असोजमा दशैं मान्दैनन् । गोर्खास्थित मल्लको गाउँका छिमेकीहरुका अनुसार उनी भदौमै दशैं मनाउने गर्छन् । उनले आफ्ना गाउँलेहरुलाई पनि दशैं एक महिना सरिसकेको हुनाले अगाडि नै मनाउन सुझाव दिँदै आएका छन् ।

‘ईस्वी सम्वत मान्नेहरुले धेरै पहिले नै आफ्नो पात्रो सच्याइसकेका छन् । उनीहरु हरेक चार वर्षमा लिभ इयर मनाउँछन् । भारतले पनि पात्रो सच्याएको छ, अब हामीले पनि सच्याउनुपर्छ,’ हरिनारायण भन्छन्, ‘कम्युनिष्टहरुले अक्टोबर क्रान्ति दिवस नोभेम्बर ७ मा मनाउन थालेको लेनिनकै पालादेखि हो ।’

आफूलाई पर्व सुधार अभियन्ता बताउने मल्लले यसो भन्दै गर्दा बिहीबार अर्थात नोभेम्बर ७ तारेखका दिन म्हेपीस्थित पारिजात स्मृति भवनमा ५३ जना प्रगतिशील लेखक–सर्जक भेला भएका थिए, जसले अक्टोबर क्रान्ति दिवस मनाए । लेनिनकै पालामा अंग्रेजी पात्रो परिवर्तन भएकाले अक्टोबर क्रान्ति दिवस नोभेम्बर ७ मा सरेको मल्ल बताउँछन् । र, नेपालले पनि यसैगरी आफ्ना चाडपर्वहरु एक महिना सार्नुपर्ने उनको तर्क छ ।

अहिलेको पात्रोमा २४ दिन तलमाथि भइसकेको छ । अब हामीले पात्रोलाई एक महिना सारेपछि भने ५ सय वर्षसम्म परिवर्तन गरिरहनुपर्दैन । वाल्मिकी क्याम्पसमा ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यका अनुसार पृथ्वीको गतिका आधारमा हरेक ७२ वर्षमा एक दिन बराबरको समय तलमाथि हुन्छ ।

असोज महिना आगामी वर्षबाटै हटाउन माग

पात्रो सुधार गर्ने अभियन्ताहरुले विसं २०७७ सालको पात्रोबाट असोज महिना हटाउन सरकारसँग माग गरेका छन् । लामो समयसम्म पर्वहरुको तिथिमिति सुधार गरेर नयाँ क्यालेण्डर नबनाएका कारण हाम्रा चाडपर्वहरु आकाशीय ग्रहस्थितिसँग नमिलेको भन्दै आवश्यक सुधार गर्न उनीहरुले माग गर्दै आएका हुन् ।

पर्वसुधार अभियन्ता मल्ल भन्छन्, ‘२०७७ सालमा पात्रो नसच्याउने हो भने तीन वर्षपछि अर्थात् २०८० सालमा मात्रै सच्याउन मिल्छ । त्यसैले नेपाल सरकार, पञ्चांग निर्णायक समिति लगायत सबै सरोकारवालाहरुले नयाँ पात्रो बनाउने बेला नहुँदै यसबारे गम्भीर हुन जरुरी छ ।’

आगामी वर्षको पात्रोबाट एक महिना हटाएको खण्डमा आकाशीय पिण्डहरुको गतिसँग हामीले मनाउने पर्वहरु मिल्ने भएकाले आगामी वर्षको पात्रोबाट असोज महिना हटाउन र असोजमा पर्ने चाडहरु भदौमै मनाउन पर्वसुधार अभियन्ताहरुले माग गरेका हुन् । अधिकमासको एक महिना समायोजन नगर्दा सिङ्गो एक पूर्णिमा अघि सरेकाले यसमा सुधार गर्नुको विकल्प नरहेको उनीहरुको तर्क छ ।

मन्त्रिपरिषदकै निर्णय कार्यान्वयन भएन

पर्व सुधार गर्ने एवं क्यालेण्डरमा परिवर्तन गर्नुपर्ने माग धेरै वर्ष पहिलेदेखि चल्दै आएको हो । लामो बहसपछि सरकार पनि यसमा सहमत भयो । वि.सं. ०६५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले ०६६ सालको चैत महिनालाई हटाई विसं ०६७ वैशाख शुरु गर्ने निर्णय त्यतिबेला गरेको थियो । ०६७ वैशाखमा पर्ने अधिकमासलाई साधारणसरह गरी चन्द्रमासअनुसार मनाइने पर्व एक महिना वर सार्ने मन्त्रिपरिषदको निर्णय पछि कार्यान्वयन हुन सकेन । त्यतिबेला संविधान निर्माण भएपछि मात्रै कार्यान्वयन गर्ने भनी बहाना बनाइयो ।

यसको पक्ष र विपक्षमा समेत बराबरी मत देखिएकाले सरकारले अहिलेसम्म पनि यसलाई परिवर्तन गर्ने आँट गरेको छैन । पात्रो सुधारको माग तीव्र रुपमा बढेपछि ०६४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एउटा पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति नै गठन गर्यो । त्यो समितिले पर्व सुधारको सम्बन्धमा सरोकारवालाहरुसँग राय सुझावको मागसहित सूचना जारी गरेको थियो ।

सो सूचनाको आधारमा नेपाल पञ्चांग निर्णायक समितिसहित विभिन्न ११ वटा संस्थाले यसमा आशंका र समस्याहरु पहिचान गरी राय सुझाव पेश गरेका थिए । त्यो सुझाव पेश गरेपछि अहिले सरकारले पनि यस विषयमा केही पनि थप निर्णय गरेको छैन । त्यसो त भारत सरकारले पनि अंग्रेजी तारेखसँग पात्रो मिलाए पनि चन्द्रमास (तिथि)सँग मिलाउन सकेको छैन । सन् १९५७ मार्च २२ मा भारत सरकारले पनि चली आएको चन्द्रमास र सौर्यमासलाई २४ दिन अघि सारेर सायन प्रणालीअनुसार राष्ट्रिय पञ्चाङ्ग सुधार गर्ने निर्णय गरेको थियो ।

सायन प्रणालीलाई मात्र आधार मानेर यो सुधार गर्दा धार्मिक गतिविधिमा प्रतिकूल असर गर्ने भन्दै अहिलेसम्म पनि स्थानीय स्तरबाट सरकारको निर्णय बमोजिमको नयाँ क्यालेण्डर लागू गरिएको छैन । तर, नेपालमा सुधार गर्न लागिएको क्यालेण्डरको प्रकृति भने भारतको जस्तो नभएको अभियन्ताहरु बताउँछन् । सायन र निरयण पद्दतिलाई समन्वय गरेर क्यालेण्डर परिवर्तन गर्दा कुनै पनि समस्या नहुने अभियन्ताहरु तर्क गर्छन् ।

सुधारको आवश्यकता किन ?

अभियन्ताहरुले चन्द्रमासमा मलमास हुने गरेको जस्तै सौर्यमासमा पनि हरेक १ वर्षमा २० मिनेट हेरफेर हुने गरेको बताउँछन् । यही समयको अन्तर बढ्दै गएका कारण आकाशीय पिण्डहरुको आधारमा तय हुने मानिसको ग्रह र नक्षत्रसमेत सही नहुने भएकाले यसको सुधार आवश्यक रहेको अभियन्ताहरु बताउँछन् । विदेशी क्यालेण्डरमा पनि हरेक ४ वर्षमा एक दिन ‘लिभ–डे’ भनेर मनाउने गरिन्छ ।

नेपालमै तिथिमितिका लागि प्रयोग गरिने चन्द्रमास अनुसारको क्यालेण्डरमा पनि हरेक ३ वर्षमा एकपटक मलमास आउँछ । चन्द्रमास अनुसार ३५६ दिनमा एक वर्ष हुने गर्छ । सौरमास अनुसारको एक वर्षभन्दा ९ दिनअघि नै वर्ष सकिने भएकाले हरेक ३ वर्षमा एउटा अधिकमास हुन्छ । यसरी हरेक १ वर्षमा बढी हुने २० मिनेटलाई जोडेर राख्दा सौरमास अनुसार ७२ वर्षमा १ दिन हेरफेर हुन्छ । उनीहरुका अनुसार हामी अहिले वास्तविक मितिभन्दा २४ दिन ढिला छौं ।

आजको दिनलाई आधार मान्दा हामी अहिले मंसिरको १७ गते मनाउनुपर्नेमा कात्तिकको २३ गते मनाइरहेका छौं । यसको अर्थ १७२८ वर्ष पहिलेदेखि क्यालेण्डरको पुनर्मूल्यांकन गरेका छैनौं । तर, कतिपय ज्योतिष शास्त्रीहरुले भने २४ दिन ढिला हुँदैमा १ महिना नै किन गायब गराउने ? भनेर पनि यसमा आपत्ति जनाएका छन् । यस्तो उत्तरमा एक महिना हटाउन माग गर्ने अभियन्ताहरुले भने अधिकमास खेल्ने क्रममा १५ दिनसम्म तलमाथि हुने भएकाले ६ दिन ऋणात्मक हुँदैमा केही असर नपर्ने तर्क गर्छन् ।

के हो निरयण पद्दति र सायन सिद्धान्त ?

ज्योतिष शास्त्रमा ‘सायन’ र ‘निरयण’ गरी २ सिद्धान्तहरुको प्रयोग गरिन्छ । सायन सिद्धान्त अनुसार ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्डको एक वर्ष हुन्छ । त्यस्तै, निरयण पद्दति अनुसार ३६५ दिन ६ घण्टा ९ नौ मिनेट ९.७६ सेकेण्डको एक वर्ष हुन्छ । वैदिक कालपूर्व नै खगोल र ज्योतिषको विकास भएको मानिन्छ ।

हडप्पा सभ्यताको समयमा निरयण सिद्धान्तको प्रचलन थियो भने त्यसबाहेक अन्यत्र सायन पद्दतिको प्रचलन थियो । तर, सन् ५०० देखि ८०० सम्मको अवस्थामा भारतीय खगोलशास्त्री आर्यभट्ट र वराहमिहिरको समयमा सायन र निरयणको गणना समान गरिएको थियो । त्यो बेलामा निरयण पद्दति सूर्य सिद्धान्तमा आधारित थियो, जुन भारतले स्वीकारेको थियो । भारत बाहिर भने सायन पद्दतिको प्रचलन रह्यो ।

 

 

#अनलाइनखबर

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार ११:२४