सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज विमानस्थलमा श्री एयरलाइन्सको दादागिरी, ७० जना यात्रु रातभर अलपत्र

बाँके । निजी बायुसेवा कम्पनीको दादागिरीका कारण नेपालगन्ज विमानस्थलमा ७० जना यात्रुहरुले कठ्यांग्रिदो रात बिताएका छन् । नेपालको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको गम्भीर दादागिरीकै कारण ७० जना यात्रु रातभर विमानस्थलमा अलपत्र परेका छन् ।

नेपालगन्जबाट काठमाडौंका लागि अन्तिम उडानको तयारीमा रहेको श्री एयरलाइन्सले यात्रुलाई पूर्वजानकारी नदिएर रातभर विमानस्थलमै अलपत्र गराएको हो । ‘शुक्रबार साँझ ६ बजे उडान समय दिएर टिकट काटेका यात्रुलाई राती १२ बजेसम्म विमानस्थलमै राखियो,’ यात्रु लालबहादुर जिसीले जानकारी दिँदै भने । विमानस्थलमा यात्रुलाई जानकारी नै नदिएर अलपत्र पारिएको जिसीले बताए ।

उनले १२ बजे काठमाडौं उडान गर्ने नाटक रचेर पुनः विमानस्थलमै यात्रुलाई अलपत्र पारिएको बताए । ‘६ बजे काठमाडौं उडान गर्ने भनेर ५ बजे नै विमानस्थलमा पुगेका यात्रुलाई राती १२ बजे विमानमा चढाएको १० मिनेटमै काठमाडौं विमानस्थल बन्द भयो भन्दै नेपालगन्ज विमानस्थलमै अलपत्र पारियो,’ जिसीले भने । श्री एयरलाइन्सले यात्रुलाई विमानस्थलमै अलपत्र पारेर भोकभोकै राखेको यात्रुको गुनासो छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार ०९:४४