सूचनाको शक्ति - The Power Of Information

        

१३ वर्षमा बिहे, २१ वर्षमा एकल

दाङ । सीता चौधरी भर्खरै २१ वर्ष पुगिन् । तर, उनी तीन सन्तानकी आमा बनिसकेकी छिन् । १३ वर्षको उमेरमा विवाह गरेकी सीता २१ वर्षमै एकल बनिन् । उनले श्रीमान् गुमाउँदा एक महिनाको नानी काखमा थियो । अहिले त्यो नानी ३ महिनाको भयो ।

सीताको ७ वर्षकी छोरी ऋतु, २ वर्षको छोरा ऋतक छन् । सासू ससुराले मजदुरी गर्छन् । मजदुरी गरेर आएको पैसाबाट सुत्केरी बुहारी र उनका छोरा छोरीको लालनपालन गर्दै आएका छन् । सम्पत्तिको नाममा चार धुरको जमिन छ । यो जमिनमा घरबास छ । धान फलाउने खेत छैन ।

‘सम्पत्ति भनेको यहि घरबास हो,’ सीताकी सासु छोट्की चौधरीले भनिन्, ‘जेठो छोरो बितिसक्यो । अब यी साना नानि बावुको जिम्मेवारीसमेत हामी बुढाबुढीका काँधमा आयो ।’ चिसो बढ्दै छ । तर, यो चिसोमा बच्चालाई कसरी न्यानो बनाउने भन्ने चिन्तामा डुबेकी सीता चौधरीलाई लमहीका दुई जना अभियान्ताले घरमै पुगेर सहयोग गरेका छन् ।

सानै उमेरमा विवाह गरेर तीन सन्तानकी आमा बनेकी सीताले श्रीमान समेत गुमाएको घटना थाहा पाएपछि सत्यसायी सेवा केन्द्रका उपाध्यक्ष सहना श्रेष्ठ, पतञ्जली योग समिति लमहीका अध्यक्ष भेषराज पाण्डेले तीन नानी बावुलाई न्यानो कपडा, सुत्केरी सीतालाइ पोषिलो खानेकुरा, न्यानो कपडा र नगद सहयोग गरेका छन् ।

‘समस्या सबैलाई पर्छ । समस्या पर्यो भन्दैमा भाग्न हुँदैन । समस्यालाई सामना गरेर समाधान गर्न सकिन्छ,’ श्रेष्ठले भनिन्, ‘हामीले सानो सहयोग गरेका हौँ । यसबाट हौसला थपियोस भन्ने चाहेका छौँ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १०:३७