सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचनका लागि मनोनय दर्ता आज, यस्तो छ कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज (बिहीबार) मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ ।

मनोनय दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । आयोगका अनुसार भोलि २२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउँसो १.३० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यसैगरी २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, त्यसै दिन ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । मंसिर १४ गते प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३, स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा १०१ राजनीतिक दल प्रतिस्पर्धा गर्दैछन् । उपनिर्वाचनका लागि १६ नयाँ दल दर्ता भएका छन् । २०७४ मा भएको प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा भाग लिएका ८५ र नयाँ १६ गरी १०१ राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । आयोगका अनुसार मतदानमा ४ लाख ५४ हजार ११४ मतदाता सहभागी हुँदैछन् । मृत्युलगायत विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका खाली रहेका विभिन्न स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते उपचनिर्वाचन गर्न लागिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार ०७:५३