
काठमाडौं । ‘पार्टीमा दबाब बढाएर फेरि लिने दिने गर्ने होइन, अब कुनै सौदावाजी नगरी अघि बढ्ने र महाधिवेशनसम्म अन्तरसंघर्ष चलाउने तयारी भइरहेको छ ।’ सचिवालयका दुई वटा बैठकमा फरक मत जाहेर गरिसकेका नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले अब महाधिवेशनसम्म नै पार्टीभित्र अन्तरसंघर्ष चलाउने तयारी गरेका छन् ।
अन्तरसंघर्षको स्वरुपबारे अहिले आफु निकट नेताहरूसँग छलफल गरिरहेका नेपालले सांकेतिक विरोधदेखि बैठक बहिस्कारसम्म हुनसक्ने विश्लेषण गरेका छन् । सोमबार प्रदेश प्रमुखहरूको नाम सिफारिस गर्न बसेको सचिवालय बैठकमा आफुले प्रस्ताव गरेका केही नामहरू पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि नेपालले लिखित रुपमै फरक मत राखेका थिए ।
सात जना प्रदेश प्रमुखमध्ये चार जना ओलीको प्रस्तावमा पूर्व एमालेबाट र तीन जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा पूर्व माओवादीबाट सिफारिस गरिएको थियो । प्रचण्डले पूर्व माओवादीभित्रका समूहलाई पनि मिलाउने गरी अमिक शेरचन, तिलक परियार र सर्मिला त्रिपाठीको नाम प्रस्ताव गरेका थिए । तर ओलीले प्रस्ताव गरेका सोमनाथ अधिकारी, धर्मनाथ साह, विष्णु प्रसाईं र गोविन्द कलौनी चारजना नै उनी निकट रहेको भन्दै नेपाल पक्षले असन्तुष्टी जनाएको छ ।
जसको कारण आफुले प्रस्ताव गरेका अमृत बोहरा, प्रदीप नेपाल, विश्वकान्त मैनाली, रघुजी पन्त, श्रीमाया थकालीमध्ये कोही पनि नपरेको नेपाल पक्षको बुझाइ छ । पार्टीका प्रदेश इन्चार्ज चयनदेखि प्रदेश प्रमुखहरूको नियुक्तिमा पनि पेलिएको विश्लेषण गर्दै नेपाल पक्ष अब अन्तरपार्टी संघर्ष चलाउने निष्र्कषमा पुगेको हो ।
पार्टीमा कार्यशैली र जिम्मेवारी बाँडफाँटका विषयमा पटक पटक असन्तुष्टि जनाउँदै फेरि सहमतिमा आउने गरेका नेपाल महाधिवेशनसम्म संघर्ष गर्नुपर्ने ठहरसहित आफु निकट नेताहरूसँग छलफलमा जुटेका छन् । नेपालले आफु निकटहरूसँग अब मन्त्रीमण्डल पुनर्गठनदेखि पार्टी र सरकारका विभिन्न जिम्मेवारी दिने विषयमा प्याकेजमा सहमति नजुटे अन्तरपार्टी संघर्ष गर्नुपर्ने भन्दै छलफल सुरु गरेका हुन् ।
सोमबार बालुवाटारमा ‘नोट अफ डिसेन्ट’ लेखेर निस्केका नेपालले त्यही साँझदेखि मंगलबारसम्म करिब एक दर्जन नेताहरूसँग छलफल गरिसकेका छन् । बुधबार पनि त्यो छलफल निरन्तर रहने जनाइएको छ । नेपालले त्यसरी छलफल गरेकामध्ये नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाल पनि एक हुन्, जसले पार्टीमा अब विधि, पद्धति र मापदण्ड पालना गराउन भूमिका बढाउन लागिएको बताए ।
‘पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको छ र पारदर्शीता पनि छैन,’ भुसालले मंगलबार भने, ‘यस्तो अवस्थामा विधि र पद्धति बसाल्न माधव नेपालले दह्रो ढंगले उभिने बेला आएको छ ।’ त्यसो त माधव नेपालमाथि आफ्नो समूहका नेतालाई जिम्मेवारी दिलाउनकै लागि सचिवालय बैठकका निर्णयमा असन्तुष्टी जनाउने र त्यसको ‘सेटल’ भएपछि चुप बस्ने गरेको आरोप पनि लाग्दै आएको छ ।
माधव नेपाल अडानमा कमजोर रहेको स्वीकार गर्दै भुसाल अब उनले आफ्ना त्यस्ता कमजोरी हटाएर पार्टीमा विधि स्थापित गर्न अन्तिमसम्म अडिग रहनुपर्ने चुनौति रहेको बताउँछन् । ‘अन्तरसंघर्ष गरेर होस् वा अन्य जुनसुकै विधिबाट किन नहोस्, महाधिवेशनसम्म पार्टीभित्रका समस्या हल गर्नुपर्ने जिम्मेवारी नेपालको काँधमा आएको छ,’ भुसालले थपे ।
पार्टीमा चरणवद्धरुपमा पेलाइमा परेको महशुस गरेपछि नेपालमाथि आफ्ना केही स्वभावहरूमा पुनर्विचार गर्न निकटस्थहरुले सुझाव र दबाब दिएका छन् । नेपाल निकट नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नेतृत्वलाई सहयोग गर्न खोज्दा पेल्न थालेपछि व्यक्तिगत सौदावाजीतर्फ नलागी पार्टीको सामूहिकताको मुद्दा बनाएर उचाल्नुपर्ने बेला आएको बताए ।
‘पार्टीमा दबाब बढाएर लिने दिने गर्ने होइन, अब कुनै सौदावाजी नगरी अघि बढ्नुपर्ने उहाँको धारणा छ’, छलफलमा नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने । पार्टीभित्र एक नेता, एक पदसहित हरेक निर्णय पारदर्शीरुपमा संस्थागत हुनुपर्ने माग गर्दै आएका नेपालले आफु निकटका नेताहरूसँग भेटघाट हुँदा पछिल्लो समय अध्यक्षद्वयले पेल्दै गएपछि पार्टीको सांगठनिक स्वरुप बिग्रेको विश्लेषण गर्ने गरेका छन् ।
‘पार्टीमा विधि, पद्धति र मापदण्ड बसाल्न एकता महाधिवेशनसम्म अन्तरसंघर्ष चलाउने तयारी भइरहेको छ,’ खतिवडाले भने, ‘त्यो संघर्षको स्वरुप परिस्थिति अनुसार निर्धारण हुन्छ ।’ नेपाल पक्षका अर्का एकजना स्थायी कमिटी सदस्यका अनुसार अन्तरसंघर्षको स्वरुप पार्टीका कार्यक्रममा सांकेतिक विरोधदेखि बहिस्कारसम्म हुन सक्ने गरी तयारी गरिँदैछ ।
सत्यपाटी ।