सूचनाको शक्ति - The Power Of Information

        

औषधीको रकम तिर्न नसक्दा अस्पतालकै बास

बाँके । शिवालय गाउँपालिका–१ जाजरकोटका ३५ बर्षीय डिलबहादुर नेपालीको उपचारवापतको रकम निर्त नसक्दा समस्या भएको छ । मेरुदण्ड भाँचिएर उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका नेपालीले मेडिकललाई तिर्नुपर्ने औषधिवापतको रकम नभएपछि डिस्जार्च हुँदा पनि अस्पतालमै बस्नुपरेको छ ।

एक महिनाअघि बाख्राको गोठ बनाउने क्रममा माथिबाट खसेको ढुंगा लागेर मेरुदण्ड भाँचिएर नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका नेपालीले मेरुदण्डको अप्रेशन सकिएको दुई हप्ता बितिसक्दासमेत मेडिकललाई औषधिवापतको रकम तिर्न नसक्दा अस्पतालले डिस्चार्ज गर्न नमानेको उनका छिमेकी भीम महताराले जानकारी दिए ।

‘मेरुदण्ड भाँचिएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा भर्ना भई उपचार सकिएको छ, स्थानीय मेडिकललाई औषधीवापतको तिर्नुपर्ने रकम रु.तीन लाखभन्दा बढी देखिएको छ, कसरी तिर्ने भन्ने समस्या भइरहेको छ,’ छिमेकी महताराले भने, ‘रकम अभावकै कारण विरामीलाई अस्पतालबाट लैजान सकेका छैनौं ।’

‘नेपालीको परिवार न्यून आयस्रोत भएको बताउँदै छिमेकी महताराले रकम तिर्नका लागि एक हप्तादेखि रकमको जोहो गरिरहेका छौं, अहिलेसम्म कुनै टुंगो छैन । यो रकम थप बढ्न सक्छ । हामीले समयोगका लागि सबैलाई आग्रह गरिरहेका छौं ।’ आर्थिक अवस्था कमजोर भएका कारण उक्त रकम तिर्न सक्ने अवस्था नरहेको महताराले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार १२:४८