सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश प्रमुख परिवर्तन स्वाभाविक : अध्यक्ष दाहाल

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वाभाविक प्रक्रिया भएको बताएका छन् । प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्छ भने ।

‘प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ,’ उनले भने, ‘यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन ।’ नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उनीहरुमाथि सम्मान गरेको अध्यक्ष दाहालले बताए ।

उनले भने, ‘अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो ।’ पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पु¥याउने अभियानमा लागेको उल्लेख गर्दै उनले आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर पनि गरे ।

‘उपनिर्वाचनको तयारी भएको छ, हामीले सर्वसम्मतरूपमा उम्मेदवार टुङ्गो लगाइसकेका छौं,’ अध्यक्ष दाहालले भने, ‘उम्मेदवारलाई जिताउन पार्टी र जनसङ्गठनका सबै तह र तप्का खटिएका छन्, हाम्रो जित सुनिश्चित छ । नेकपा बाँके जिल्ला शाखाले आयोजना गरेको तिहार, छठ, मोहर्रमलगायत पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन उनी नेपालगन्ज आएका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलवार १७:५१