सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका मन्त्रीको हवाई टिकट दलाली, सर्वसाधारणलाई सास्ती

बाँके । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले हुम्ला विमानस्थलमा दादागीरी मच्चाउँदै हवाइजहाजको टिकटमा दलाली गरेको जनगुनासो आएको छ । सामाजिक विकास मन्त्री रावलले आफ्नो मन्त्री पदको पदीय दुरुपयोग गर्दै सिमिकोट विमानस्थलमा दादागीरी शैलीमा दर्जनबढी टिकट खरिदमा दलाली गर्ने गरेको सर्वसाधारणको गुनासो छ ।

उनले आफू र आफ्ना परिवारका लागि जबरजस्ती टिकट लिएर आम नागरिकलाई माथि सास्ती दिएका छन् । लामो समयदेखि टिकटका लागि लाइनमा बसेका सर्वसाधरणमाथि अपमानजक गर्दै आफू मन्त्री भएको भरपूर नाजायज फाइदा उठाउँदै मन्त्री रावलले दादागिरी शैलीमा टिकट हात पारि सपरिवारसहित नेपालगन्ज झरेको बताइएको छ ।

धनसरा रावल, नरजीत रावल, रविन रावल, धर्मजीत साउद, विरेन्द्र रावत, भरत रावत, टोपजंग फडेरा, देविचन्द्र महाराजा, कलावति बोहोरा, फुलमाया जैशी, सुजन भण्डारी लगायतका ब्यक्तिहरुको नामको टिकट मन्त्री दल रावलको नाममा काटिएको भेटिएको छ । मन्त्री रावलले दर्जनबढी ब्यक्तिहरुको टिकट खरिदको जिम्मा लिएर दलाल तथा विचौलियाको भूमिका खेलेको र ती ब्यक्तिमध्ये अधिकांश उनकै पारिवारिक सदस्यहरु रहेको खुल्न आएको छ ।

नागरिकलाई यतिबेला सिमिकोट विमानस्थलमा टिकट पाउन मुस्किल भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरीकलाई एकमात्र अन्तरजिल्ला जोड्ने हवाई सेवा भए पनि निजी एयरलाइन्सले नाफामुखी उडान गर्नाले टिकट पाउन मुस्किल भएको हो । सुर्खेत नेपालगन्जबाट नियमीत उडान गर्ने सहमति गरेका सिता, तारा, समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन झन् मुस्किल भएको छ ।

शुक्रबार र शनिबार समिट एयरले एक दिनमा एउटा उडान गरे पनि एयरलाइन्सका हाकिमहरुले मन्त्रीदेखि सरकारी उच्च अधिकारीका लागि कोठाबाट नै टिकट बुक गर्दा पहुँच नभएका जिल्ला बाहिर जान समस्या भएको काठमाडौमा अध्ययन गर्दै आएका जनक सुनारले बताए । सिता एयरलाइन्सले तीन दिनदेखि हुम्लामा उडान भर्न छोडेको छ । नेपालगन्जबाट तारा एयरलाइन्सले कुनै दिन एक फलाइट गर्दै आएको छ भने कुनै दिन दुई उडान गरे पनि फिर्ता टिकट भएको भन्दै पछि हटेको छ ।

तीन–चार दिनको अन्तरमा एउटा उडान गर्ने गरे पनि निजी एयरलाइन्सका कर्मचारीहरुले भनसुनको आधारमा टिकट वितरण गर्दै आउने गरेका छन् । जिल्लाका तल्लो क्षेत्रका गाउँपालिकाबाट जिल्ला बाहिर सिमिकोट पुगेका हुम्लीलाई टिकट पाउन समस्या हुने गरेको छ । नेपालगन्ज, सुर्खेतदेखि नियमित उडान नहुँदा दशैं मनाएर जिल्ला बाहिर जाने नागरिकलाई सास्ती भएको छ । विहान ६ बजेदेखि सिमकोट विमानस्थलमा टिकटको लागि लाइन लाग्ने गरे पनि टिकट पाउन मुस्किल भएको सिमकोट गाउँपालिका–२ का प्रेम भण्डारीले बताए ।

चार दिनदेखि सिमकोट विमानस्थलमा रहेका एयरलाइन्सहरुका कार्यालयमा टिकटको लागि लाइन लाग्दा पनि एयरलाइन्सलका कर्मचारीहरुले कोठामै बसेर फोनका आधारमा टिकट बाँडिसकेपछि जहाज पुग्ने बेलामात्रै एयरपोटमा पुग्ने गरेको बताए । तारा, सिता, समिट एयरलाइन्सका हाकिमहरुले कोठाबाटै टिकट बुक गरी आफु एयरपोर्टमा नआएर अन्य कर्मचारीलाई विमानस्थलमा पठाउनेसमेत गरेका छन् । जिल्लामा दैनिक एक उडान ताराले गरिहेको छ भने अन्य सिता, समिट एयरलाइन्सले पूर्वमा उडान गर्दै आएका छन् ।

समिट एयरलाइन्स हुम्लामा उडान नगरेर पूर्वमा उडान गर्ने भएकाले यहाँका नागरीकलाई झनै समस्या हुने भएको छ । निजी जहाजले नियमित उडान नगर्दा जिल्ला बाहिर जाने हुम्लीलाई समस्या बनाएको छ । केही दिनदेखि नेपाल एयरलाइन्सले सातामा दुई पटक उडान गर्ने गरेको छ । सधैं दशैंतिहारको समयमा हुम्लाका नागरीकलाई जिल्ला बाहिर सास्ती हुने गरेको छ । निजी एयरलाइन्सहरुले नियमित उडान नगर्दा तिहार मनाएर अध्ययन र कामको सिलसिलामा जिल्ला बाहिर जाने हुम्लीलाई झनै समस्या भएको छ ।

जिल्ला बाहिर जान पहुँचवाला र राजनीतिक दलका आसेपासेले मात्रै टिकट पाउने गरेका छन् विहानैदेखि टिकटका लागि विमानस्थलमा धाउने सर्वसाधारणहरुले टिकट नपाएर सास्ती भोग्दै आएका छन् । सिमकोट विमानस्थलमा टिकटका लागि एकाविहानै करिब तीन/चार सय यात्रुको भीड हुन्छ । मन्त्री दल रावलले हवाई टिकटमै दलाली गरेको जनगुनासो आएपछि यस विषयमा बुझ्न खोज्दा मन्त्री रावलको मोबाइलमा सम्पर्क हुन सकेन भने कर्णाली प्रदेशस्थित उनले सम्हालेको सामाजिक विकास मन्त्रालयको टेलिफोन उठेन ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १५:३९