
बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा मिगौला विरामीका लागि प्रयोग गरिने इपोफिट सुईको अभाव देखिएको छ । यसले डायलासिसका लागि भेरी अस्पतालमा आउने विरामी उक्त सुई लगाउनबाट बञ्चित भएका छन् । भेरी अस्पतालमा रहेको अस्पतालकै फार्मेसीले उक्त सुई महँगो भन्दै नल्याउने र बजारमा रहेका अन्य मेडिकलमा नपाइने गरेपछि विरामीले विगत एक महिनादेखि इकोफिट सुई लगाएका छैनन् ।
नेपालगन्जको बजार मुल्यअनुसार रु.एक हजार ४०० पर्ने ईपोफिट बजारमा नपाएपछि अहिले कतिपय विरामीहरू रु.दुई हजार १०० देखि रु.दुई हजार ५०० सम्म रकम तिरेर महँगोमा अर्को सुई लगाउँन बाध्य छन् । भारतको बहराइचमा सुई सहजै पाइने भए पनि महँगोमा उस्तैखाले अर्को सुई बिक्री गर्न पाइने भन्दै यहाँका मेडिकल सञ्चालकले इपोफिट सुई ल्याउन चासो नदेखाएको मिर्गौला पीडितहरुको गुनासो छ ।
नेपालगन्जको भेरी अस्पतालमा अहिले दैनिक चार जनाले डायलासिस गराइरहेका छन् । ‘डायलासिस गरिरहेका सतप्रतिशतले हप्तामा एक वा महिनामा दुई पटक इकोफिट सुई लगाउने गरेका थिए । तर, एक महिनादेखि बजारमा सुई अभाव देखिएकाले कतिपयले महँगोमा अर्कै कम्पनीको सुई लगाइरहेका छन्,’ मिर्गौला विरामी इन्द्र श्रेष्ठले भने, ‘म जस्ता आर्थिक अभाव भएका दर्जन विरामीले एक महिनादेखि इकोफिट दुई लगाउन सकेका छैनौं ।’
यसले विरामीको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । भेरीमा रहेका चारवटामध्ये दुईवटा मेशिन बिग्रेको करिब ६ महिना भइसक्दा पनि उक्त मेशिन बनाउनतर्फ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रूपानन्द अधिकारी मौन रहेको अस्पताल स्रोतकै भनाई छ । उनले तिहारअघि नै मेशिन मर्मतका लागि प्राविधिक आउने बताए पनि हालसम्म पनि मर्मत हुन सकेका छैनन् ।
मेशिन बिग्रेको लामो समय हुँदा अस्पताल प्रशासन बेखबर रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । एक स्वास्थ्यकर्मीले भने, ‘विरामीको चाप बढेको बढ्यै छ । मेशिन बिग्रेका छन् । चलिरहेका दुईमध्ये एएटाले कहिलेकाँही काम गर्ने छाडेको छ । एउटा मेशिनको भरमा डायलासिस विभाग चलिरहेको छ । यहाँका मेशिन मर्मत र सुधारका लागि अस्पताल प्रशासन र व्यवस्थापन उदासिन देखिएको छ ।’
विरामीले दिए आन्दोलनको चेतावनी
विरामीको चाप दैनिक बढेको र अस्पतालले बिग्रेका मेशिन मर्मत गर्नेतर्फ चासो नदिएको भन्दै मिगौला विरामीले अस्पतालविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । साधन स्रोतको अभाव रहेको डायलासिस युनिटमा भएका मेशिन समेत प्रयोगका लागि मर्मत नहुँदा दर्जनौ विरामीले अस्पतालबाट सहज सेवा पाउन सकेका छैनन् ।
मिगोला विरामीले डायलासिस युनिटमा भएका सबै मेशिन प्रयोगमा ल्याउनुपर्ने, बिग्रेका मेशिन तत्काल मर्मत गर्नुपर्ने, आबश्यकताअनुसारका डाक्टर दरबन्दी र जनशक्तिका लागि अस्पताल व्यवस्थापन र प्रशासनले पहल गर्नुपर्ने लगायतका माग राखी आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यसअघि पनि अस्पतालका मेसु अधिकारीले तत्काल मेशिन बनाउने प्रतिबद्धता जनाएका थिए ।
‘मेसुले हालसम्म आफुले गरेको प्रतिवद्धता पुरा गर्नुभएको छैन । बिग्रेका मेशिन मर्मतका लागि कुनै चासो देखाउनुभएको छैन । बिग्रेका मेशिन मर्मत गरेर प्रयोगमा ल्याई विरामीलाई सहज डायलासिस सेवा नदिए हामी आन्दोलनमा उत्रिन्छौं,’ मिर्गौला विरामी अमित दर्जीले भने । अहिले पनि दुई दर्जनबढी मिगौलाका विरामी मेशिनको अभावमा पालो कुरेरै बसेको अर्का विरामी राजु परियारले बताए ।
डायलासिस युनिट इन्चार्ज डाक्टर पारस श्रेष्ठका अनुसार अहिले पनि दैनिक नयाँ विरामी डायलासिसका लागि सम्पर्कमा आउने गरेका छन् । तर, बिग्रेका मेशिन समयमै मर्मत हुन नसक्दा यस्ता विरामीलाई फिर्ता गर्नुको विकल्प नभएको उनको भनाई छ । अस्पतालका मेसु अधिकारीले भने आफू बिग्रेका मेशिन मर्मतका लागि सम्बन्धीत निकायसँग छलफल भइरहेको बताए । उनले छलफल भइरहेको भन्दै पन्छिन थालेको करिब पाँच महिना बितिसकेको अस्पतालका कर्मचारीहरुको गुनासो छ ।
सत्यपाटी ।