सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा पहुँचवालाको कोठामै पुग्छ जहाजको टिकट, सामान्य नागरिकलाई सास्ती

हुम्ला । नेपालीहरुको ठुलो चार्ड दशैंतिहार मनाएर जिल्ला बाहिर जान हुम्लाका नागरिकलाई यतिबेला सिमकोट विमानस्थलमा टिकट पाउन मुस्किल भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरीकलाई एक मात्रै अन्तर जिल्ला जोडने हवाई सेवाभएता पनि निजी एयरलाईन्सहरुले नाफामुखी उडान गर्नाले टिकट पाउन मुस्किल भएको छ ।

सुर्खेत नेपालगन्जबाट नियमीत उडान गर्ने सहमति गरेका सिता, तारा, समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किलभएको छ । शुक्रबार र शनिबार समिट एयरले एक दिनमा एउटा उडान गरे पनि एयरलाइन्सका हाकीमहरुले कोठाबाट नै टिकट बुक गर्दा पहुँच नभएका जिल्ला बाहिर जान समस्या भएको काठमाडौमा अध्ययन गर्दै आएका जनक सुनारले बताए ।

सिता एयरलाइन्सले तीन दिनदेखि हुम्लामा उडान भर्न छोडेको छ । नेपालगन्जबाट तारा एयरलाइन्सले कुनै दिन एक फलाइट गर्दै आएको छ भने कुनै दिन दुई उडान गरे पनि फिर्ता टिकट भएको भन्दै पछि हटेको छ । तीन/चार दिनको अन्तरमा एउटा उडान गर्ने गरे पनि निजी एयरलाइन्सका कर्मचारीहरुले भनसुनको आधारमा टिकट वितरण गर्दै आउने गरेका छन् । जिल्लाका तल्लो क्षेत्रका गाउँपालिकाबाट जिल्ला बाहिर सिमकोट पुगेका हुम्लीलाई टिकट पाउन समस्या हुने गरेको छ ।

नेपालगन्ज, सुर्खेतदेखि नियमित उडान नहुँदा दशैं मनाएर जिल्ला बाहिर जाने नागरिकलाई सास्ती भएको छ । विहान ६ बजेदेखि सिमकोट विमानस्थलमा टिकटको लागि लाइन लाग्ने गरे पनि टिकट पाउन मुस्किल भएको सिमकोट गाउँपालिका–२ का प्रेम भण्डारीले बताए । चार दिनदेखि सिमकोट विमानस्थलमा रहेका एयरलाइन्सहरुका कार्यालयमा टिकटको लागि लाइन लाग्दा पनि एयरलाइन्सलका कर्मचारीहरुले कोठामै बसेर फोनका आधारमा टिकट बाँडिसकेपछि जहाज पुग्ने बेलामात्रै एयरपोटमा पुग्ने गरेको बताए ।

तारा, सिता, समिट एयरलाइन्सका हाकिमहरुले कोठाबाटै टिकट बुक गरी आफु एयरपोर्टमा नआएर अन्य कर्मचारीलाई विमानस्थलमा पठाउनेसमेत गरेका छन् । जिल्लामा दैनिक एक उडान ताराले गरिहेको छ भने अन्य सिता, समिट एयरलाइन्सले पूर्वमा उडान गर्दै आएका छन् । समिट एयरलाइन्स हुम्लामा उडान नगरेर पूर्वमा उडान गर्ने भएकाले यहाँका नागरीकलाई झनै समस्या हुने भएको छ । निजी जहाजले नियमित उडान नगर्दा जिल्ला बाहिर जाने हुम्लीलाई समस्या बनाएको छ ।

केही दिनदेखि नेपाल एयरलाइन्सले सातामा दुई पटक उडान गर्ने गरेको छ । सधैं दशैंतिहारको समयमा हुम्लाका नागरीकलाई जिल्ला बाहिर सास्ती हुने गरेको छ । निजी एयरलाइन्सहरुले नियमित उडान नगर्दा तिहार मनाएर अध्ययन र कामको सिलसिलामा जिल्ला बाहिर जाने हुम्लीलाई झनै समस्या भएको छ । जिल्ला बाहिर जान पहुँचवाला र राजनीतिक दलका आसेपासेले मात्रै टिकट पाउने गरेका छन् विहानैदेखि टिकटका लागि विमानस्थलमा धाउने सर्वसाधारणहरुले टिकट नपाएर सास्ती भोग्दै आएका छन् । सिमकोट विमानस्थलमा टिकटका लागि एकाविहानै करिब तीन/चार सय यात्रुको भीड हुन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १४:३५