सूचनाको शक्ति - The Power Of Information

        

कालंगा हाइड्रोपावरको सुरुङभित्र थुनिए कामदार

बझाङ । बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाइड्रो पावरमा काम गर्ने चार जना कामदार सुरुङभित्र फसेका छन् । आइतबार दिउँसो सुरुङभित्र कामका लागि गएका कामदारहरुको अवस्था जोखीम रहेको प्रहरीले जनाएको छ । काम गर्न सुरुङभित्र गएका बेला अक्सिजन नभएपछि उनीहरु बेहोस भएको बझाङ्गका प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेशबहादुर बमले बताए ।

उनीहरुसँगै गएका दुई जना कामदार भने फर्किन सफल भएको र चार जनाको अवस्था अज्ञात रहेको डिएसपी बमले बताए । सुरुङ्गभित्र फसेकाहरुमा गुराँस गाउँपालिका–३ दैलेखका ३२ बर्षिया महेन्द्र शाही, कर्ण शाही, तुर्माखाँद गाउँपालिका–६ अछामका २८ बर्षिया महेन्द्र साउद, बझाङको बुंगल नगरपालिका–१ का ३५ बर्षिया शेरसिंह धामी रहेको डिएसपी बमले जानकारी दिएका छन् ।

घटना भएको जानकारी भएपछि जिल्लाबाट प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोल घटनास्थलमा पुगेको छ । सुरुङभित्र फसेका कामदारहरुलाई बाहिर निकाल्न काठमाडौंबाट हेलिकप्टरमा नेपाली सेनाको उद्दार टोली पनि घटना स्थलमा पुगेर उद्दार सुरु गरिसकेको प्रजिअ पाण्डेले बताए ।

८०० मिटर लम्बाईको सुरुङभित्र अक्सिजनको अभाव भएकोले उद्धार गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । पाँच बर्षदेखि निर्माण कार्य सुरु भएको कालंगा हाइड्रो प्रालिले यहाँको सानीगाड कालंगा खोलाबाट ६५ मेघावाट विद्युत उत्पादन गर्ने भएको छ । हाइड्रोको दहबगरजस्तै पाउटामा पनि सुरुङ खन्ने काम भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १३:५०