सूचनाको शक्ति - The Power Of Information

        

किसानलाई मल पाउन सास्ती

बझाङ । बझाङका किसानहरुलाई मल पाउन सास्ती भएको छ । गहुँबाली लगाउने यो सिजनमा किसानहरु मल छर्ने हुँदा जिल्लाका किसानहरु मलको लागि भौतारिरहेका छन् । यसअघि किसानलाई तत्कालिन जिल्ला कृषि विकास कार्यालयले मल उपलब्ध गराउँदै आएकोमा यस बर्षदेखि र स्थानीय तहले मल वितरण गर्दै आएका छन् ।

स्थानीय तहहरुले मल ढुवानीका लागि ठेक्का गरेका छन्, किसाहरुले भने सहज र सुलभरुपमा मल प्राप्त गर्न सकेका छैनन् । यसबर्ष जयपृथ्वी नगरपालिकाले ठेक्कामा दिएको मल ढुवानी गर्दा पनि सोमबार मलका लागि किसानहरुको चैनपुरको नयाँ बसपार्क चौरमा भिडभाड थियो । मल लिन आएका स्थानीय रामप्रसाद जोशीले भने, ‘एक कठ्ठा मलका लागि विहान ६ बजेदेखि लाइनमा बसेको हुँ, मल पाउनै समस्या भएको छ ।’

किसान जोशीजस्तै अन्य किसानहरु पनि मल लिनकै लागि कोचाकोच गरेर बसपार्क चौरमा बसिरहेका थिए । मलका लागि किसानलाई बर्षेनि यस्तै दुख हुने गरेको अर्का किसान जयराज जोशीले बताए । यसपाली सिजनको लागि जयपृथ्वी नगरपालीकाले ठेक्का दिएर कृष्ण कन्ट्रक्सन सप्लायर्सले ३४० बोरा डिएपि मल ल्याएको छ ।

जयपृथ्वी नगरपालिकाभित्रका किसानलाई प्रतिव्यक्ति एक कठ्ठाका दरले वितरण गरिएको नगरपालिकाका प्रवक्ता सविता खड्काले बताइन् । प्रतिबोरा २ हजार ५२५ रुपैयाँमा डिएपी मल बिक्री गरिउको छ । यसअघि पनि दुई ट्रक युरिया मल ढुवानी गरेर किसानलाई बिक्री गरेको थियो । जिल्लाको सदरमुकाम आसपासका किसानहरुले रासायनिक मल प्रयोग गरे पनि अन्य पालिकाका किसानहरु भने रासायनिक मलको प्रयोग खासै गर्दैनन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार ११:२६