सूचनाको शक्ति - The Power Of Information

        

‘लोक चौतारी’मार्फत लोक संस्कृति जोगाउँदै युवा (भिडियोसहित)

बाँके । जति पुराना गीतप्रति सकारात्मक विचार पुराना पुस्तामा पाइन्छ, त्यो पटक्कै अहिलेका पुस्तामा देखिँदैन । पहिले लेखिएका गीतका शब्द सुन्नलायक थिए, त्यो अहिलेका गीतमा भेट्टाउनै मुश्किल हुन्छ । ‘बल्ल पर्यो निरमाया माकुरी जालैमा’, ‘खैरेनीमा गेट’, ‘घुम्तीनिर भेट भयो’ लगायत गीतले जति हाम्रा मौलिक लोकगीत जोगाएका थिए, अहिलेका लोकगीतमा पाइँदैन ।

नयाँ शैलीका गीतसंगीत खासै सुन्नलायक नै छैनन् । ‘साह्रै जाडो भो’, ‘साँढे गोरु’, ‘पीरतिमा दम छ’, ‘चालु रैछ यार’, ‘तिम्रै यादमा’, ‘झ्याप्पै माया लाउने’ लगायत लोकगीत भनिएका गीतमा लोक मौलिकपना पाउनै मुश्किल छ । नेपाली समाजमा पुराना कला संस्कृति विस्तारै पुराना मौलिक गीत भन्नेबित्तिकै तिनीहरुले समाजमा केही न केही लोक मौलिकपना बोकेका हुन्छन् । नयाँ गीतहरुमा नेपालीपन नै छैन ।

‘ज्यान त टाढा छ, तर बिरानो नसम्झ माया गाढा छ’ गीतमा जति मौलिकपना र शब्द पनि सुनिरहुँ जस्तो लाग्ने छ, अहिलेका गीतमा वासनात्मक कुरा बढी घुसाएकाले लोकगीतप्रतिको मानसिकतामा समेत परिवर्तन आएको छ । आजभोलीका लोकगीतमा अश्लिलता धेरै हावी भएको देखिन्छ । नयाँ गीतसंगीतमा जति सिर्जनात्मकता चाहिने हो, त्यो अहिले छैन गीतको भिडियो बनाउने कुरामा र शब्दको चयनमा स्रष्टाले ध्यान दिएको पाइँदैन ।

यस्तै मौलिक लोकगीत तथा कला संस्कृतिको जगेर्ना गर्न बाँकेका युवाहरुले लोक चौतारी कार्यक्रममार्फत अभियान सुरु गरेका छन् । कार्यक्रममा संयोजन निरज निश्चलले गरिरहेका छन् भने कलाकार संयोजन अमन वली, बाद्यवाधन संयोजन शान्तकुमार विक, प्रिति सिंह ठकुरी, गणेश विष्ट, ओम शर्मा लगायतका छन् । स्थानीय बागेश्वरी टेलिभिजनमा हरेक बुधबार र पुनःप्रशारण बिहीबार राती ८ बजेदेखि ९ बजेसम्म हुने गर्छ ।

हेर्नुस् भिडियो

भरिया युट्यूव च्यालन, सत्यपाटी डटकम अनलाइन पत्रिका, नेपाल बंगलादेश बैंक र कोहलपुर पार्टी प्यालेससँगको सहयोग तथा समन्वयमा युवाहरुले लोक संस्कृति जगेर्ना गर्न अभियान नै सुरु गरेका छन् । हालसम्म चार वटा कार्यक्रम उत्पादन तथा प्रशारण गरिरहेको कार्यक्रमका संयोजक निरज निश्चलले बताए । उनले भने, ‘पछिल्लो समयमा लोकगीतमा छाडा शब्दको निकै प्रयोग भएको देखिन्छ । यस्ता खालका गीत लोकबजारमा भित्रिन थालेसँगै नेपालको लोक मौलिकपना हराउँदै गएकाले त्यसको संरक्षणका लागि हामी लागेका हौं ।’

पछिल्लो समयमा यस क्षेत्रमा देखिएको विकृतिका कारण युवाहरुमा लोकगीतप्रतिको आफ्नो मोह घट्दै गएको बताउँदै आफू लोकसंगीतको पारखीसमेत रहेका निश्चल भने, ‘आजभोलि बजारमा आएका गीत सुनिनसक्नुका छन् ।’ पहिलेका गीतमा बनाइएका भिडियोमा महिलाको पहिरन पनि हेर्नलायक थिए । तिनीहरुले नेपाली संस्कृतिलाई जोगाएका थिए । अहिले गुन्युचोलीबाट बदलिएर महिलाले छोटाछोटा पहिरन लगाएको पाइन्छ जुन संस्कृति हाम्रो नभएको उनको भनाई छ ।

नेपाली संस्कृतिमा अहिले पाश्चात्य संस्कृति घुसेको प्रष्टै हुन्छ । प्रायःनग्नताले संगीत बिक्छ भन्ने धारणा रहेकाले अहिले सुन्नेभन्दा हेर्ने गीत आएको भनी अहिलेका छाडा गीतहरुप्रति नकारात्मक दृष्टिकोण बढिरहेको उनको भनाई छ । ‘यीनै विषयहरुमा केन्द्रीत भएर हामीले लोक चौतारी कार्यक्रममार्फत लोक संस्कृति बचाउन लागिपरेका छौं,’ निश्चलले भने । स्वतन्त्र नेपाली गीतमा भन्दा पनि नेपाली चलचित्रमा लोकगीत घुसाउने गरेको पाइन्छ ।

‘सान्नानीलाई भेट्न आउँदा रातै पर्यो बाटैमा’, ‘कुटुमा कुटु सुपारी दाना’ लगायत नेपाली चलचित्रको गीतमा नायिकाले गुन्युचोलो लगाएका छन् । तिनका दाँजोमा अचेल गाइने प्रायः लोकगीतमा उच्छृङ्खल शब्दको प्रयोग बढी छ । ‘पहिलेका नेपाली गीतमा छुट्टै खालका मीठास हुन्थे,’ बाद्यवाधक संयोजक शान्तकुमार विकले भने, ‘अहिलेका नेपाली गीतले हाम्रो संस्कृति नै हराउँदै गएको आभास हुन्छ ।’

नयाँ गीत कुनै यथार्थमा भन्दा पनि काल्पनिकतामा रच्ने गरेको अनुभव उनको छ । गीतको रचनाका लागि समाजसँग भिज्नु आवश्यक रहेको उनी बताउँछन् । पहिले गीतको बजार सानो थियो, अहिले यो ठूलो उद्योगको रुपमा स्थापना भइसकेपछि प्रतिष्पर्धाका नाममा विकृति भित्रिएको उनको अनुभव छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतवार १२:०५