सूचनाको शक्ति - The Power Of Information

        

खसी नदिएपछि तरुण दलका नेताको तिघ्रा छेडिदिने डीएसपीको धम्की

बाँके । तरुण दल बाँकेका कोषाध्यक्ष तथा निर्माण व्यवसायी केशर खड्काले कोहलपुरका डीएसपी हेम शाहीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै मानवअधिकार आयोगमा उजुरीको तयारी गरेको बताएका छन् ।

खड्काले आफूलाई डीएसपी शाहीले दिएको धम्कीको अडियोसमेत सार्वजनिक भइसकेको बताउँदै डीएसपी शाहीले आफूसँग दसैंमा एउटा खसी मागेको तर आफूले नदिएपछि उनले गोली हानीदिने धम्की दिएको बताए ।

‘दसैं आयो एउटा खसी त दिनुहोला नि भन्दै डीएसपीले भनेका थिए,’ खड्काले भने, ‘तर मैले खसी नदिएपछि केही दिनअघि मेरो तिघ्रा छेडिदिने धम्की दिए । मेरो जीवनरक्षाको माग गर्दै म मानवअधिकार आयोगसमक्ष जाने तयारीमा लागेको छु ।’

‘तँसँग मेरो वार नै भयो, मलाई सरुवा गराउँछु भन्दै हिँडेको छस् रे !,’ सार्वजनिक अडियोमा पनि भनिएको छ । सार्वजनिक भएको अडियो डीएसपी शाहीकै हो वा होइन भन्ने पुष्टि भएको छैन । उनीसँग यसबारेमा बुझ्न पटक–पटक प्रयास गर्दा पनि उनले फोन उठाएनन् ।

तरुण दलका नेता खड्काले भने आफूले खसी नदिएपछि यस्तो धम्की आएको दाबी गरेका छन् । उनले भने, ‘ममाथि खतरा छ । मैले खसी नदिएपछि डीएसपीले त्यसको रिस पोख्न लागेका हुन् ।’ डीएसपीले नै धम्की दिएको अडियोबारे प्रदेश नम्बर पाँचका डीआईजी सुरेशविक्रम शाहले यसबारे आफूलाई जानकारी नभएको बताए ।

उनले भने, ‘अहिले अडियोलाई तोडमोड वा अनेक प्रविधिबाट निर्माण पनि गरिन्छ । अडियोको ल्याब परीक्षण गर्नुपर्छ ।’ उनले पीडित भनिएका व्यक्तिले प्रहरी कार्यालयमा उजुरी दिए घटनाको छानबिनसमेत गर्ने बताए । तर पनि आन्तरिक छानबिन थालिने डीआइजी शाहले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार १५:१९