सूचनाको शक्ति - The Power Of Information

        

पेस्तोलसहित तरुण दलका सभापति पक्राउ

बाँके । ‘मेड इन अमेरिका’ लेखेको अटोमेटिक पेस्तोल, दुई राउण्ड गोली र त्यसको म्याग्जिनसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका–२० गनापुरस्थित नमस्ते भिलेज रेष्टुरेन्टबाट पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१३ का ३२ वर्षिय संदीपजंग शाहसहित ६ जनालाई पक्राउ गरिएको हो । बा १८ च ४२११ नम्बरको खैरो मारुती सुजिकी कारको सिटमुनी लुकाई राखेको अवस्थामा बिहीबार राती पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शाह नेपाल तरुण दल नेपालगन्ज उपमहानगर समितिका सभापतिसमेत हुन् । प्रहरीले शाहसँगै नेपालगन्ज–१० भृकुटीनगरका ४० वर्षिय दिनेशकुमार शाही, नेपालगन्ज–१२ का ५४ वर्षिय राघव शाह (कानु), ३५ वर्षिय माधव नेपाली, नेपालगन्ज–४ का ३५ वर्षिय प्रितम थापा र नेपालगन्ज–२० का यामबहादुर बुढालाई पनि नियन्त्रणमा लिएको छ ।

गनापुरमा रहेको नमस्ते रेष्टुरेन्टमा हतियारसहित केही व्यक्ति बसेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक शाहीले पेस्तोल बरामद भएको कारसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । उनीहरुमाथि हाहतियार तथा खरखजाना ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार ०८:०९