सूचनाको शक्ति - The Power Of Information

        

कैदीबन्दीले लगाए नेपालगन्ज कारागारमा ताला

बाँके । कारागारका कैदी नाइके परिवर्तन हुनुपर्ने माग गर्दै बाँकेको नेपालगन्ज कारागारका कैदीबन्दीले तालाबन्दी गरेका छन् । उनीहरुले हालका नाइकेलाई बन्दी गृहबाट बाहिर निकालेर भित्रबाट ताला लगाएका हुन् । १०/१५ जना कैदीबन्दीहरुको समूहले कारागारका नाइके परिवर्तन गर्नुपर्ने माग राखेका छन् ।

नेपालगन्ज कारागारका कैदीबन्दी र थुनुवाले आफुहरुमाथि जेलर, चौकीदार, नाइकेले शोषण गरेको आरोप लगाएका छन् । कारागारभित्र जेलर भरतराज पाण्डेको निर्देशनमा चौकीदार फडेरा नाइके शाहीले कारागारका कैदीबन्दीमाथि चरम आर्थिक तथा शाररिक शोषण गर्ने गरेको उनीहरुको आरोप छ ।

कारागारभित्रका कैदीबन्दीले जेलर, चौकिदार र नाइके परिवर्तनको माग गरेपछि जेल प्रशासनले आफूहरुलाई अन्यत्र सरुवा गरिदिने धम्कीसमेत आइरहेको बताएका छन् । कैदीबन्दीहरुले कारगारका चौकीदार भरत फडेरा र नाइके मानबहादुर शाहीलाई बाहिर राखेर भित्रबाट आज बिहानैदेखि तालाबन्दी गरेको बाँकेका प्रहरी प्रमूख बीरबहादुर ओलीले जानकारी दिए ।

उनले भने, ‘चौकीदार र नाइके परिवर्तन गर्नुपर्यो भन्ने माग गरेका छन् । हामी त्यसलाई सुल्झाउँदैछौं । त्यस्तो गम्भीर केही छैन ।’ कारागारमा तालाबन्दी गरेलगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक बीरबहादुर ओली र सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी लगायतको टोली कारागार पुगेको थियो ।

कैदीबन्दीहरुसँगको भेटपछि प्रजिअ खड्काले भने, ‘सामान्य कुरा रहेछ, उहाँहरुको बुझाईमा केही फरक परेछ । समस्या ठुलो र गम्भीर छैन, जेलर आएपछि समस्या समाधान हुन्छ ।’ जेलर भरत पाण्डे घरबिदामा रहेका कारण उनलाई भोलीसम्म हाजिर हुन ताकेता गरिएको प्रजिअ खड्काले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार १५:१३