सूचनाको शक्ति - The Power Of Information

        

गोली लागेर एक युवाको मृत्यु भएपछि कपिलवस्तुमा कर्फ्यु

कपिलवस्तु । हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुरजकुमार पाण्डे छन् । हिन्दू र मुस्लिम समूदायबीच भएको झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा हिन्दू समुदायका युवा पाण्डेको मृत्यु भएको स्थानीयले जनाएका छन् ।

प्रहरीले भने गोली लागेर मृत्यु भएको विषयलाई अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपशम्शेर राणाले स्थिति नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको बताए । लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच बुधबार राति नै तनावको स्थिति सिर्जना भएको थियो ।

लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए । तर, मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन भनेर स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७०० मिटर तथा दक्षिणतर्फ पनि ७०० मिटर र पूर्वतर्फ ३०० मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार १२:५५