सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्वमा रोकिएन जुवा, पाँच बर्षमा ४२ मुद्दा

बाँके । नेपालगन्जको सोनारमण्डीमा बुधबार मात्रै छापा मारेर आठ जनालाई तास खेलिरहेको अवस्थाबाट नियन्त्रणमा लियो । उनीहरुको साथबाट रु.६७ हजार बरामद भयो । गत सोमबार कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेण्टल अस्पतालको तेस्रो तलामा जुवा खलिरहेको अवस्थामा अछाम, कोहलपुर र नेपालगन्जका जुवाडेलाई रु.तीन लाख ३९ हजार ४५० नगदसहित पक्राउ गर्यो ।

तिहारको टिकाका दिन पनि बैजनाथ गाउँपालिका– ४ मा जुवा खेलिरहेको अवस्थामा आठ जना जुवाडेलाई रंगेहात पक्राउ गर्यो । जुवा खेलिरहेको थाहा पाएपछि प्रहरीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लियो । उनीहरुको साथबाट रु.६६ हजार २६५ प्रहरीले बरामद भयो । इलाका प्रहरी कार्यालय कोहलपुरले दशैंमा तीन वटा र तिहारमा थप दुई वटा जुवा खालबाट जुवाडे नियन्त्रणमा लियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले यसपटक जुवाविरुद्ध विगतमा भन्दा कडाई गर्यो । चाडपर्वका बेला जुवा खेल्ने कार्य नियन्त्रणका लागि निगरानी बढाउने बताएको बाँके प्रहरीले दशैंमा मात्रै पाँच वटा जुवा खाल फेला पारेको थियो । बाँके प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीका अनुसार, जुवा खाल खोज्न साधा पोशाकमा प्रहरी परिचालन गरेको थियो । प्रहरीले ठूला जुवा खालमा भेटिएकालाई पक्राउ गरेर मुद्दा दायर गर्ने गरेको छ ।

स–सानो समूहमा सानो परिणाममा जुवा खेलेको भेटे सम्झाएर छाड्ने गरेको छ । कतिपय ठाउँमा प्रहरीको गस्ती देख्ने बित्तिकै पनि जुवाडेहरु भाग्ने गरेका छन् । यसअघि नगर बाहिर भित्री गाउँहरुमा खुलेआम जुवा खेल्ने गरेको भए पनि यसपटक भने त्यसमा कमी आएको छ । तास लगायतका अन्य जुवा सडक छेउमै खेलाइने गरेपछि यसबर्ष प्रहरीले कडाइ गरेपछि कमी आएको प्रहरी उपरीक्षक ओलीले बताए ।

उनले मनोरञ्जनकै नाममा भए पनि हारजित हुने गरी जुवा खेल्नेहरु कारवाहीको दायरामा आएको बताए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमूख एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले नियन्त्रणमा लिइएकाहरुलाई कानुन बमोजिम कारवाही गर्ने बताए । जुवा खालमा भेटिएकाहरुलाई मुद्दा चले जरिवाना र कैदसम्मको सजाय हुने कानुनी व्यवस्था छ ।

अधिवक्ता लोकबहादुर शाहले मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ बमोजिम जुवाका लागि कानुनले दुई प्रकारको सजाय तोकेको बताए । ‘पहिलो पटकमा तीन महिनासम्म कैद वा १० हजारसम्म जरिवाना र दोस्रो पटकमा १ बर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुनसक्छ’, अधिवक्ता शाहले भने ।

पाँच बर्षमा ४२ मुद्दा

बाँकेमा पाँच बर्षको अवधिमा जुुुवाका ४२ मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७१/०७२ देखि आव २०७४/०७५ सम्म जुवाका मुद्दा बढ्दो क्रममा रहे पनि आव २०७५/०७६ मा कमी आएको देखिन्छ । आव २०७१/०७२ मा तीन वटा मुद्दा दर्ता भएकोमा आव २०७२/०७३ मा बढेर ६ वटा जुवा सम्बन्धी मुद्दा दर्ता भए ।

आव २०७३/०७४ मा पाँच वटा जुवा सम्बन्धी मुद्दा दर्ता भएका थिए । आव २०७४/०७५ मा जुवा सम्बन्धी मुद्दा ह्वात्तै बढेको प्रहरी तथ्यांकले देखाउँछ । जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटका अनुसार, आव २०७४/०७५ मा १९ वटा जुवा सम्बन्धी मुद्दा दर्ता भएका थिए । आव २०७५/०७६ मा ९ वटा मुद्दा प्रहरीले दर्ता गरेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार ११:३०