सूचनाको शक्ति - The Power Of Information

        

प्लाष्टिक जत्तिकै हानिकारक कागजको झोला !

बाँके । प्लास्टिकको साटो कागज र सूतीबाट बनेको झोला वातावरणका लागि राम्रो हुने बताइएपनि वास्तविकता त्यस्तो छैन । विशेषज्ञहरूका अनुसार, यी झोला पनि वातावरणीय हिसाबले ठीक छैनन् किनकि प्लास्टिकलाई त रिसाइकल गर्न सकिन्छ, यिनलाई सकिन्न । वातावरण अनुकूल हुने झोला कुन हो भन्ने प्रश्न उठ्दा त्यसको म्याद सकिँदा के गरिन्छ भन्ने कुरा मात्र हामी सोच्छौं ।

अनि झोला बनाउँदा पर्ने मूल्य हामी बिर्सन्छौं । वास्तविक वातावरणीय मूल्यको आकलन गर्दा हामीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । जस्तो ः झोला बनाउँदा कति ऊर्जा उपयोग गरिएको हुन्छ ? यसलाई कतिपटक पुनः उपयोग गर्न सकिन्छ ? रिसाइकल गर्न यो कति सहज छ ? यसलाई फ्याँक्दा यो कति समयमा नष्ट हुन्छ ? उत्तरी आयरल्यान्ड एसेम्ब्लीले सन् २०११ मा गरेको अनुसन्धान अनुसार, प्लास्टिकको झोलाको तुलनामा यी झोला बनाउन चार गुणा ऊर्जा खपत हुन्छ ।

कागजलाई रुख काटेर बनाइने भएकाले जंगलमा पनि असर पर्छ । यस अनुसन्धानका अनुसार, सिंगल युज प्लास्टिक बनाउनुभन्दा यसलाई बनाउँदा बढी पानी खर्च हुन्छ र यसबाट निकै गाढा तथा विषालु रसायन निस्कन्छ । नर्थम्प्टन विश्वविद्यालयमा दिगो फोहर व्यवस्थापनका प्राध्यापक मार्गरेट बेट्सका अनुसार, ‘कागजका झोला भारी पनि हुन्छन् । तिनीहरूलाई कारखानाबाट पसलहरूसम्म पुर्याउन वाहनको उपयोगबाट वातावरणलाई अतिरिक्त हानि पनि हुन्छ ।’ सूती झोला बनाउन झन् धेरै पानी आवश्यक पर्छ ।

मार्गरेट भन्छिन्, ‘सूती खर्चिलो फसल हो । नयाँ फेशनले ल्याएको चिन्ता यसले पनि ल्याउँछ ।’ कागजका झोलालाई कम्तीमा तीनपटक उपयोग गर्नुपर्छ भने प्लास्टिकको झोलालाई चारपटक उपयोग गर्नुपर्छ । तर सूती झोलाहरूलाई १३१ पटक उपयोग गर्नुपर्छ किनभने त्यसलाई बनाउन अत्यधिक ऊर्जा खपत हुन्छ । तर कागजका झोलाहरूलाई अपेक्षाकृत रूपमा उपयोग गर्ने आवश्यकता हो भने यिनले तीनपटक सुपरमार्केट जाउन्जेल साथ दिन्छन् त ? यिनीहरू त्यति टिकाउ हुँदैनन् र फाट्ने जोखिम बढी हुन्छ ।

कम टिकाउ भएकाले पुनः प्रयोग गर्नका लागि कागजको झोला उपयोगी छैन । सूतीको झोला बढी टिकाउ हुन्छ । तर कागजका झोला टिकाउ नभए पनि छिट्टै नष्ट हुन्छन् । त्यसैले यसले वातावरणलाई कम हानि गर्छ । प्लास्टिकको झोलालाई नष्ट हुन ४०० देखि हजार वर्ष लाग्छ र प्लास्टिक प्रदूषणको समस्या बढाउन जिम्मेवार छ । सन् १९५९ मा स्विडेनमा प्लास्टिक झोला बनाइएको थियो । त्यतिखेर मानिस कागजको थैलो उपयोग गर्थे र त्यो बनाउन धेरैवटा रुख काटिन्थे । त्यसैले हलुका र टिकाउ हुने भनी प्लास्टिकको झोला बनाइयो ।

मानिसले त्यसलाई बारम्बार प्रयोग गर्छन् र फलस्वरूप कम रुख काटिने अनुमान गरेर प्लास्टिकको झोला बनाइएको थियो । तर मानिसहरूले प्लास्टिकको झोला पुनः प्रयोग नगरेर फ्याँकिदिने गरेकाले अहिले संसारका प्लास्टिकजन्य प्रदूषण ठूलो समस्या बनिसकेको छ । तपाईंले छिटोछिटो झोला बदल्ने गर्नुभएको छ भने वातावरणमा अत्यधिक असर पर्छ । मार्गरेट बेट्सका अनुसार, ‘झोलाहरूबाट वातावरणमा कम असर पार्ने हो भने सकेसम्म त्यसलाई पुनः पुनः प्रयोग गर्नुपर्छ ।’ अधिकांश मानिस सुपरमार्केट जाँदा झोला बोक्नै बिर्सन्छन् र नयाँ झोला किन्छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार १६:२०