सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार बिहान धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको ग्राण्डी अस्पतालका महाप्रवन्धक विकासमान श्रेष्ठले जानकारी दिएका छन् । ओलीको स्वास्थ्य अवस्थाबारे विस्तृत प्रतिवेदन आइसकेपछि मात्रै सार्वजनिक जानकारी दिइने उनले बताएका छन् ।

नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । ‘रेगुलर चेकजाँचका लागि जानुभएको हो । स्वास्थ्यमा नयाँ समस्या उत्पन्न भएको छैन । स्वास्थ्य जाँचपछि फर्किनुहुन्छ,’ प्रेस सल्लाहकार अर्यालले भने ।

उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेट्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अस्पताल पुगेका छन् । ओली भर्ना भएपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिन पोखरेल अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको सचिवालयले स्पष्ट जानकारी सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाइरहेका छन् । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्थ्यमा समस्या देखिने गरेको छ ।

भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो । त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए । रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए । त्यसअघि छाउनीस्थित सैनिक अस्पताल नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार १५:३०