सूचनाको शक्ति - The Power Of Information

        

फौजी किराको प्रकोपपछि बाँकेमा धान उत्पादन ३२ प्रतिशतले घट्ने

बाँके । बाँके जिल्लामा फौजी किराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो । जिल्लाको धान खेती हुने ३६ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ३२ प्रतिशत अर्थात १७ हजार हेक्टरमा धान फौजी किराले नष्ट गरेको जनाएको छ ।

जिल्लाभर ३२ प्रतिशत धान उत्पादन घट्ने देखिए पनि प्रभावित क्षेत्रमा कम्तीमा ५० प्रतिशतदेखि शतप्रतिशत धान उत्पादन घट्ने देखिएको छ । फौजी किराले धान नोक्सान गरेपछि किसानले वर्षभरी के खाने भन्ने चिन्ता थपिएको जनाएका छन् । ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार फौजी किराको प्रकोप सबैभन्दा बढी नेपालगन्ज, डुडुवा, बैैजनाथ र राप्तीसोनारीमा परेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१९, सुँइयालगायतका ठाउँमा त शतप्रतिशत धानबाली फौजी किराले नष्ट गरेको छ । डुडुवाको बन्जारे गाउँ, राप्ती सोनारीको फत्तेपुर लगायतका क्षेत्रमा पनि फौजी किराले धेरै धान नोक्सान गरेको छ । जिल्लामा कूल २ लाख २५ हजार ८३६ हेक्टर हेक्टर क्षेत्रफलमध्ये २५ प्रतिशत अर्थात् ५७ हजार २५२ हेक्टरमा खेती हुन्छ । जसमध्ये ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुँदै आएको छ ।

यस वर्ष बिउ राख्ने बेलामा, रोप्ने बेलामा पर्याप्त पानी परेकाले धान उत्पादन बढ्ने आँकलन गरिरहेको बेला १७ हजार हेक्टर धानबाली नोक्सान भएपछि उत्पादन स्वात्तै घट्ने भएकोे हो । फौजी किराको प्रकोप छिमेकी जिल्ला बर्दियामा पनि परेको छ । बर्दियाको धान खेती हुने साढे ५२ हजार हेक्टर क्षेत्रफलमध्ये दुई हजार हेक्टरमा मात्र फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बाँके र बर्दियामा फौैजी किराको प्रकोप देखिएपछि प्रदेश र संघीय सरकारले चासो देखाएका छन् । प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले फौजी किरा प्रभावित क्षेत्रको अवलोकन गरेर प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी छन् भने बाँकेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ले संघीय सरकारका कृषिमन्त्रीलाई भेटेर फौजी किराको प्रकोप पीडित किसानलाई राहत उपलब्ध गराउन आग्रह गरिएको जनाएका छन् ।

कृषिमन्त्रीले फौजी किराको प्रकोप पीडित किसानलाई आवश्यक राहत उपलब्ध गराउन सहयोग गर्ने आश्वासन दिनुभएको अथकले जानकारी दिए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले केन्द्र सरकारका कृषिमन्त्रीले आफूलाई फोन गरेर फौजी किराको प्रकोपबाट पीडित किसानहरुको अवस्थाका बारेमा बुझेको र राहत तथा क्षतिपूर्तिका लागि पहल भइरहेको बताए ।

‘तत्काल विषादी छरेर फौजी किराको प्रकोप नियन्त्रण तथा पीडित किसानलाई कसरी राहत दिन सकिन्छ भन्ने विषयमा योजना बनाउन मन्त्री ज्यूले निर्देशन दिनुभयो,’ ज्ञान केन्द्र प्रमुख ढकालले भने, ‘फौैजी किराबाट प्रभावित किसानलाई राहतका लागि हामीले संघीय र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं ।’ फौजी किरा प्रकोप पीडित किसानलाई राहत उपलब्ध गराउने विषयमा केन्द्र तथा प्रदेश सरकारसँग समन्वय भइरहेको उनले जनाए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार १४:१०