सूचनाको शक्ति - The Power Of Information

        

सहकारी पीडितलाई तिहारमा पनि पीडा

बाँके । सहकारी वित्तीय विकास संस्थाका पीडितहरुले रकम अभावमा ठूला पर्वहरु मनाउनु परेको छ । गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनसकेका छैनन् । ईद, बकरईद, दशैं र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरु सडकमै उत्रिएका छन् ।

आवश्यकताका बेलाका लागि बचतकर्ताले राखेको रकम फिर्ता नपाउन नसकेपछि उनीहरुमा तनाव र आक्रोश पाइन्छ । बचतकर्ताहरुले रकम फिर्ताका लागि पटक पटक आन्दोलन गरे पनि अझै रकम कहिले फिर्ता हुन्छ भन्ने टुंगो छैन । ‘बिरामी भएर थलिँदासमेत सहकारीमा राखेको पैसा बचतकर्ताले फिर्ता पाउन सकेका छैनन्,’ बचतकर्ताको रकम फिर्ताका लागि पहल गर्न गठित संघर्ष समितिका अध्यक्ष विजय गुप्ता भन्छन् ।

बचतकर्ताहरु दोषीलाई कारवाहीसँगै आफ्नो बचत रकम फिर्ता गर्ने वातावरण बनाउन आन्दोलित हुँदै आएका हुन् । परसपुरका अकबाल बेहनाले रु.८ लाखभन्दा बढी रकम सहकारीमा फसेको बताए । उनी पर्वका बेला पनि पैसा नपाएको दुखेसो गर्छन् । प्रेमलाल लोहारले रु.१० लाख सहकारीमा बचत गरेका थिए । तर उनले पर्वका बेलामा मात्रै नभई अप्ठ्यारो अवस्थामा पनि पैसा पाउन नसकेको बताए ।

सहकारीले सुरुमा १० प्रतिशत रकम फिर्ता गर्दासमेत लोहारले एक रुपैयाँ पनि नपाएको गुनासो गरे । ‘टोकन विहान नै बाँडिन्थ्यो, म पुग्दा टोकन बन्द हुन्थ्यो,’ उनी भन्छन् । आफ्नो रकमका लागि काम छाडेर आन्दोलनमा गर्नु परिरहेको पीडितहरु बताउँछन् । बिर्ताका बिर्खु प्रसादले पनि अप्ठ्यारो पर्दा काम लाग्न भनेर राखेको रु.६ लाख सहकारीबाट पाउन नसकेको बताए ।

सहकारी समस्यामा आए पनि कर्मचारीबाट असुल गरी सहकारी सञ्चालनमा ल्याउने, समस्याग्रस्त घोषणा गर्ने लगायतको प्रयास भए पनि सफल हुन सकेन । धितो राखेर ऋण लिएकाहरुलाई कहाँ ऋण तिरेर आफ्नो बन्दक रहेको सम्पत्ती फिर्ता लिने हो भन्ने अन्योलमा छन् । प्रहरीले अनुसन्धान पनि ४१ विरुद्ध अदालत दायरको मुद्दामा बहस जारी छ । पक्राउ परेका प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस सुरु भैसकेको छ । तिहार बिदाका कारण रोकिएको बहस अदालत खुलेपछि सुरु हुनेछ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार १३:५३