सूचनाको शक्ति - The Power Of Information

        

गरिमा धानको बिउ खरीदकर्तालाई बील नदिन विक्रेताको चलखेल

बाँके । गरिमा नामक धानको नक्कली बिउ बिक्रेता दाङको सनराइज एग्रीकल्चरले बिउ खरीद गरेका किसानलाई बिल दिन रोक लगाएको छ । नेपालगन्ज, खजुरा र बर्दियाको भुरीगाउँस्थित एग्रोभेटबाट बिक्री गरिएका धानमा बाला नलागेपछि बिक्रेतालाई बिल दिन रोक लगाएको हो ।

‘ब्यवहारिक रुपमा चिनेका पसलबाट बिउ लिएकाले बिल लिइएन, अहिले समस्या पर्दा बिल दिन मानेनन्,’ खजुराको एउटा एग्रोभेटबाट बिउ लिएका किसान कर्णबहादुर मल्लले भने, ‘बिलको महत्व अब बुझियो ।’ किसानले क्षतिपूर्ति र कारबाही माग गर्न बिल आवश्यक हुन भएकाले कारबाहीबाट जोगिन दाङ्गको लमहीमा रहेको सनराइज एग्रीकल्चरले बिल दिए डिलर बन्द गर्ने धम्की दिएको सम्बद्धको भनाइ छ ।

‘रु.पाँच करोड बराबरको बिउ सनराइज एग्रीकल्चरले यस क्षेत्रमा बेचेको देखिन्छ,’ किसानलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै सत्तारुढ नेकपा बाँकेका अध्यक्षसमेत रहनुभएका प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेल (आइपी)ले भने, ‘किसानका पीडामा मल्हम लगाउने भन्दा माथिमाथि मिलाएर जोगिने दाउमा लागेको देखिएको छ, कुनै हालतमा छाडिन्न ।’

बिउ बिक्रेता कम्पनी र क्वारेन्टाइन कार्यालयको मिलेमतोमा बाँके र बर्दियाका किसानलाई नक्कली धानको बिउ बितरण गरेर ठगी गरिएको हुनसक्ने भन्दै प्रदेशसभा सदस्य खरेलले छानबिन गरेर दोषीमाथि कारबाही र पीडित किसानलाई क्षतिपूर्ति दिने ब्यबस्था मिलाउन माग गरेका छन् । ‘उत्पादनका आधारमा किसानलाई क्षतिपूर्ति दिनुको विकल्प छैन,’ खरेलले भने, ‘प्रदेश र संघीय सरकारसमक्ष किसानका समस्या सुनाएको छु ।’

नेपाल सरकारले सूचीकृत गरि आयात इजाजत दिएको बिउ भएकाले सरकारी निकाय यसमा जिम्मेवार हुनुपर्ने खरेलको भनाइ छ । गरिमा धानको बिउ २०७२ सालमा नेपाल सरकारले सूचिकृत गरेको हो । गरिमा धान करीव ९० देखि ९५ दिनभित्र पसाएर १२५ दिनमा तयार हुनुपर्ने भए पनि बाँके र बर्दियाका कतिपय किसानका खेतमा बाला नलागेपछि बिउ नक्कली भएको रहस्य बाहिर आएको हो ।

नेपालगन्ज र खजुराका विभिन्न भेटनरीबाट प्रतिकेजी ३३० मा खरिद गरेर ६ कठ्ठामा लगाएको गरिमा ब्राण्डको शंकर धान १५२ दिनमा पनि बाला नलागेपछि आफैं पनि हरियो बालीमा ट्याक्टर चलाएका प्रदेशसभा सदस्य आइपी खरेलले भने, ‘भक्कानिएर रुने अवस्थामा किसानहरु भेटिन्छन् । बिउ बिक्रेता कम्पनी र क्वारेन्टाइन कार्यालयका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

प्रदेशसभा सदस्य खरेलले आफुले लगाएको धानवाली अस्वाभाविक अवस्थामा देखिएपछि कृषि ज्ञान केन्द्र नेपालगन्जका कृषि प्राविधिकलाई बोलाएर धानखेत देखाएका थिए । कृषि प्राविधिकले धानको बिउ नक्कली भएकोले बाला नलाग्ने बताएपछि १५२ दिनपछि धान मासेर तोरी छरेका छन् । ‘उनले ट्याक्टर लगाएपछि हामी झस्कियौं,’ एकै दिनजसो धान लगाएका किसान कर्णबहादुर मल्लले भने ।

१६० दिनपछि बल्लबल्ल बाला देखापरे पनि चालम लाग्ने अवस्था नरहेको मल्लले बताए । अघिल्ला वर्ष गोरखनाथ धान लगाएका चन्द्रबहादुर बस्नेतले समस्या नदेखिएको बताउँदै भने, ‘यसबर्ष पनि पहिलो पटक लटमा रोपिएको गरिमा धानमा बाला लागेको छ । पछिल्लो पटक ल्याइएको बिउमा समस्या देखियो । गरिमाका नाममा नक्कली बिउ बेचिएकोले विक्रेता कम्पनीलाई कारबाही गरेर किसानलाई राहत दिनुपर्छ ।’

मल्ल र चन्दका छिमेकी चन्द्रबहादुर बस्नेत आफुले भन्दा पहिले रोपेको धानमा अहिलेसम्म बाला नलागेको देखेर अचम्ममा परेका छन् । बस्नेतले अनाहकमा किसानले दुख पाएको बताए । ‘१० कठ्ठामा लगाएको धानमा एक दाना लागेन,’ गतवर्ष २० क्वीन्टल धान भित्र्याएको सम्झँदै स्थानीय किसान कौशिला चन्दले खेतमा धानवाली देखाउँदै भनिन्, ‘धान लगाएको १६० दिनमा धानको बाला देखापरे पनि भित्र फोस्रो छ ।’

सँगै जोडिएको खेतमा दुई सातापछि रोपेको धान पाकेर छिमेकीले काटेर धान खेतमा तोरी छर्ने तयारी गर्दासमेत धानमा बाला नलागेपछि गरिमा धान रोपेका किसानहरु पीडित बनेका छन् । बाँके, बर्दिया र दाङमा किसानले रोपेको गरिमा जातको धानमा दाना नलागेपछि प्रदेश ५ की कृषिमन्त्री आरती पौडेलले बाला नलाग्ने गरिमा धानको बिक्री वितरणमा संलग्नलाई कारबाही गरेर किसानलाई क्षतिपूर्ति दिलाउने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतवार ०६:५१