सूचनाको शक्ति - The Power Of Information

        

सदरमुकाम जोड्ने जब्दीघाट पुल निर्माण अलपत्र

बर्दिया । सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दीघाट पुल भत्किएको वर्षौ बितिसक्यो । त्यहाँबाट सवारी आवागमन ठप्प छ । भत्किएको पुल कहिले निर्माण हुने हो निश्चित छैन । बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाप्रसाद चौधरीले उक्त पुल निर्माणका लागि केन्द्र र प्रदेश सरकारसमक्ष धाइरहेको बताए ।

अहिले बाढी आउँदा पुलको माथिबाट पानी बग्छ । बाढीमा बगेर आएका रुखले बहाव छेक्ने गरेको छ । पानीको बहाव थुनिएर ठूलो दुर्घटना हुन सक्ने खतरा बढ्दै छ । पुल हटाउन स्थानीयले माग गर्दै आएका छन् । ठेक्का लिने तर काम नगर्ने पप्पु कन्ट्रक्सनले पुल निर्माण गरेको हो । हस्तान्तरण नहुँदै पुलको पूर्वी भाग भत्किएको थियो ।

पुल १६ करोड ६८ लाख ४ हजार रुपैयाँ लगानीमा निर्माण भएको थियो । निर्माण पूरा भएको एक वर्ष नबित्दै पुल भत्कियो । पप्पु कन्ट्रक्सनलले ०६८ असार २५ बाट पुल निर्माणको काम सुरु गरेको थियो । तोकिएको भन्दा डेढ वर्ष ढिलो निर्माण भएको पुलको लम्बाई ४३५ मिटर छ । चौडाई दुई लेनको छ ।

बारबर्दिया नगरपालिकाकाका प्रमुख चौधरीले जति प्रयास गरिए पनि सरकारले सुनुवाई नगरेको गुनासो गरे । ‘प्राविधिक समस्या छ भन्दै आलटाल हुँदै आएको छ । प्रदेश र केन्द्र सरकारसँग पटकपटक आवाज उठाइरहका छौँ,’ उनले भने, ‘पुल निर्माण नहुँदा सवारी साधन बन्द भएको छ ।’ सडक डिभिजनले भने हस्तान्तरण नगरिएकै बेला भत्किएका कारण पुनर्निर्माणमा समस्या भएको जनाएको छ ।

गुलरिया-नेपालगन्ज हुलाकी सडक अन्तरगतका जीर्ण ८ कल्भर्ट निर्माणका लागि अमर खड्का जेभीले ४ करोड ९७ लाख रुपैयाँमा ठेक्का लियो । उसले चालु आर्थिक वर्षको मंसिर मसन्तसम्ममा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर ठेक्का कबुलको समय सकिनै थालेको छ । निर्माणले पूर्णता पाउन सकेको छैन ।

गुलरियाको महम्मदपुर क्षेत्रमा ५ कल्भर्ट निर्माण भइसकेको छ । तर, भोलागौडीस्थित बहेरवानालामा निमार्ण गर्ने भनिएको कल्भर्टको काम सुरु भएको छैन । जसका कारण सम्झौंता अनुसार तोकिएको समयमा काम सकिने सम्भावना कम छ । सडक डिभिजन कार्यालय नेपालगन्जले समयमै काम सक्न पटकपटक ठेकेदारलाई भनिरहेको छ ।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर नेत्रबिलास पौडेलले हुलाकी सडकको पाँच वटा कल्भर्ट निर्माण भइसके पनि पूर्णरुपमा हुन नसकेको स्वीकारे । उनका अनुसार भोलागौडीमा कल्भर्टको काम सुरु भएको छैन । ‘निर्माण कम्पनीलाई समसयमै काम सक्न आग्रह गरिहेका छौ,’ उनले भने, ‘समयमै काम गर्न नसके जरिवाना गछौं ।’ उक्त आयोजनाका लागि ४ करोड ९७ लाखमा ठेक्का दिइएको छ ।

०७४ फागुनमा काम गर्ने सम्झौता भएको थियो । खजुरा कृषि तालिम केन्द्र अगाडि अझै कल्भर्ट पूरा नहुँदा एकतर्फी राजमार्ग छ । राजापुर नगरपालिकाकामैलानालामा नागार्जुन कम्पनीले पुल निमार्ण जारी राखेको छ । राजापुरकै सौरिहा खोलामा गाल्भा निर्माण सेवाले पुल बनाउने जिम्मा लिएको छ । पुल निमार्णको समय केही बाँकी रहेको सडक डिभिजनले जनाएको छ । इन्जिनियर पौडेलले बर्दियामा पुराना पुलका काम नरोकिएको दाबी गर्छन् । उनका अनुसार ठेक्का समय सकिएका तर अलपत्र परेको पुल छैन ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतवार ०६:२६