सूचनाको शक्ति - The Power Of Information

        

सयपत्री र मखमली फूलमा बाँके आत्मनिर्भर

बाँके । सयपत्री तथा मखमली फूलमा बाँके आत्मनिर्भर बन्दै गएको छ । यसैले अहिलेको तिहारमा बाँकेमा भारतीय फूल नभित्रिने भएको छ । बाँकेमा खपत हुने सयपत्री र मखमली फूल भारतबाट नल्याइने भएको हो ।

बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल नल्याउने भएको व्यवसायीहरु बताउँछन् । नेपालगन्जस्थित हिमाली नर्सरीले मात्र झन्डै पाँच क्विन्टल सयपत्री फूल बजारमा पठाउने भएको नर्सरीका सञ्चालक अंकित श्रेष्ठ बताउँछन् ।

उनकाअनुसार दाङ, सुर्खेत, प्युठानका फूल व्यवसायीले अहिलेसम्म दुई क्विन्टल फूलको माग गरिसकेका छन् । बाँकेमा उत्पादन भएका सयपत्री फूल भारतको भन्दा गुणस्तरीय छ । बाँकेमा प्रतिकिलो रु.४०० का दरले सयपत्री फूल बिक्री हुँदै आएको पुष्प व्यवसायी बिन्दु चर्तीमगर बताउँछिन् ।

दुई हजार सयपत्री र दुई हजार मखमली फूलको माला बिक्री गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । उनले भनिन्, ‘तिहारमा झन्डै रु.१६ लाखको फूलको माला बिक्री गर्ने मेरो लक्ष्य छ ।’ बाँकेको कोहलपुर, दाङ र पाल्पाबाट फूलको माग रहेको चर्ती फ्लोराकी सञ्चालकसमेत रहनुभएकी चर्तीमगरले बताइन् ।

पछिल्लो समय बाँकेमा मखमली तथा सयपत्री फूलको खेतीमा किसानको आकर्षण बढेको छ । सभा समारोह, जन्मदिन, विवाह, पूजाआजा, व्रतबन्ध, भोजलगायतमा फूल प्रयोग हुने गरेको छ । होटल, कार्यालय, पसलमा समेत फूल प्रयोग हुन थालिएपछि अहिले फूलको माग बढेको व्यवसायी चर्तीमगर बताउँछिन् ।

‘तिहारमा धेरै माग हुने सयपत्री, मखमली, सुपारीलगायतका फूलहरु बाँकेमै उत्पादन भएका छन् । जसले गर्दा भारतीय फूल विस्थापित भएका छन्,’ उनले भनिन् । आधुनिकतासँगै प्राकृतिक फूल र वातावरणमैत्री सामान प्रयोग हुन थालेको उनको भनाइ छ । तिहारमा मात्र नभएर नेता वा कुनै पाहुना आएको बेला फूलको माला लगाइदिने प्रचलन पछिल्लो समय बढ्दै गएको छ ।

फूल उत्पादक व्यवसायीले पनि फूलको माग बढ्दै गएको बताएका छन् । सवैभन्दा बढि सयपत्री तथा मखमली फूलको कारोबार हुने व्यवसायीहरुको भनाई छ । नेपालगन्ज नाकाबाट मखमली र सयपत्री फूल अहिलेसम्म नआएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।

नेपालगन्ज नाकाबाट आर्टिफिसियल (कृतिम) माला आए पनि सयपत्री र मखमली फूल आएको तथ्यांक भन्सार कार्यालयसँग नभएको उनले जानकारी दिए । उनकाअनुसार आर्थिक वर्ष २०७४/०७५ मा रु.चार लाख ५६ हजार ६९४ र आर्थिक वर्ष २०७५/०७६ मा रु.पाँच लाख ८९ हजार ८३३ बराबरको प्लास्टिकका कृतिम माला नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार ०८:५८