सूचनाको शक्ति - The Power Of Information

        

नेपालीको दोस्रो ठूलो पर्व यमपञ्चक (तिहार) आजदेखि आरम्भ

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसवर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।

यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको उनले बताए । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ ।

बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । एघार गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्नेहुन्छ ।

कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

कात्तिक १२ गते भाइटीकाकै दिन यसवर्ष नेपाल संवतअनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँवर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ ।

कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न शुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दासमेत मन आनन्दित हुन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार ०७:३९