सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रीपरिषदले तोक्यो धानको न्यूनतम मूल्य

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ का लागि धानको न्यूनतम मूल्य प्रति क्वीन्टल मोटा धानको २ हजार ५३२ रुपैयाँ र मध्यम धानको २ हजार ६७३ रुपैयाँ तोक्ने निर्णय गरेको छ । गत वर्षमा मध्यम धान २ हजार ५३१ रुपैयाँ र २ हजार ४६० रुपैयाँ मोटा धानको मूल्य तोकिएको थियो ।

यस्तै इन्जिनियर तुलाराम पौडेललाई सार्क इनर्जी सेन्टरमा फेलोसीपका लागि काजमा खटाइएको छ भने सुनसरीमा रहेको देवानगन्ज गाउँपालिकामा रहेको ९ कट्ठा सरकारी जग्गा निशुल्क लिजमा उपलब्ध गराउन स्वीकृति दिइएको छ । त्यस्तै नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर क्षेत्री अधिकारी र आशिषप्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको छ ।

यस्तै रोजगारीको हक सम्बन्धी नियमावली २०७६ स्वीकृत गरिएको छ । यसमा गाउँगाउँमा रोजगारीको लागि संयोजक तोकिएको छ । यस्तै काठमाडौं उपत्यकाभित्रको तार व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ । हाल काठमाडौं उपत्यकाभित्र रहेका खुला तारलाई विभिन्न आइएसपीहरुले १५ ठाउँमा अण्डरग्राण्ड गर्ने योजना अघि सारेका छन् ।

साथै सूचना महामार्ग निर्माणका लागि कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशमा कार्यान्वयन गराउन नेपाल दूरसञ्चार लिमिटेडबाट गराउन नेपाल दूर सञ्चार प्राधिकरणलाई समेत निर्देशन दिइएको छ भने डिजिटल नेपाल फ्रेमवर्क २०७६ स्वीकृत गरिएको छ । यस्तै नारायणहिटी राजदरवार संग्रहालय र गणतन्त्र स्मारक संग्रहालय सञ्चालन विकास समिति गठन आदेश २०७६ स्वीकृत गरेको छ ।

यस्तै मालपोत नियमावली २०३६ को नियम ५ (घ) ज्ञ को न्यूनतम समितिले गरेको मूल्यांकनको नियम परिमार्जन गर्न स्वीकृति दिएको छ भने गैर करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिएका छन् । यस्तै सरकारले विशिष्ट श्रेणीको सचिव पदमा रामकृष्ण सुवेदीलाई बढुरुवा गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार १९:०५