बाँके । बाँकेको खजुरा गाउँपालिकाले आयोजना गरेको बृहत खजुरा सम्मेलन उद्घाटनका प्रमूख अतिथि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलसम्शेर राणाले कडा चेतावनी दिएका छन् । प्रदेश राजधानीको प्रशंगलाई जोडेर मुन्यमन्त्रीलाई ‘बुटवल राजधानी सह्य हुँदैन’ भन्दै चेतावनी दिए ।
मेयर राणाले प्रदेश पाँचको राजधानी दाङसम्म भए बाँके, बर्दियाका नागरिकले सहमति जनाउन सक्ने बताउँदै भने, ‘बाँके र बर्दियालाई कुनै पनि हालतमा बुटवल राजधानी मान्य हुँदैन । जबरजस्त गरे बाँके र बर्दियाबाट आन्दोलनको आँधी आउँछ । पायक पर्ने स्थानमा राजधानी तोक्नुस्, यसमा पक्षपात नहोस् ।’
अहिलेको अस्थायी राजधानी बुटवल बाँके, बर्दियाका नागरिकका लागि अपायक पर्ने दाबी गर्दै मेयर राणाले दाङको कुनै पनि कुनामा राजधानी बनेमा समर्थन दिन सकिने बताएका हुन् । तर, उनले बुटवललाई प्रदेश राजधानी स्वीकार्न नसकिने अडान लिए । विगतदेखि नै बुटवल प्रदेशका लागि उपयुक्त राजधानी नभएको मेयर राणाले बताए ।
बिगतदेखि नै बुटवल राजधानी नहुने अडान लिँदै आएका मेयर राणाले बाँकेको खजुरामा बुधबार भएको बृहत खजुरा सम्मेलनको उद्घाटनमा फेरी उहि अडान दोहोर्याए । उनको यस्तो अडानलाई उक्त सम्मेलनमा सहभागी रहेका प्रदेश सांसददेखि बाँके, बर्दियाका स्थानीय तहका जनप्रतिनिधी आम नागरिक, कर्मचारी लगायतले समर्थन जनाएका छन् ।
मुख्यमन्त्री पोखरेलसमक्ष मेयर राणाले ‘बुटवल राजधानी स्वीकार्य हुँदैन् दाङसम्ममा भए जसोतसो स्वीकार्न सकिएला,’ भन्दै यस बिषयमा मुख्यमन्त्रीले तत्कालै निर्णय गर्नुपर्ने दबाब दिए । बुटवलभन्दा बाहिर प्रदेश राजधानी घोषणा नगरी बुटवलमै प्रदेश राजधानी घोषणा गरिए बाँके, बर्दियाका नागरिक प्रदेश पाँचबाट अलग हुने मेयर राणाले खुलासासमेत गरे ।
‘प्रदेश राजधानी दाङसम्म भए ठिकै छ । नत्र बाँके, बर्दियाका नागरिक कर्णाली प्रदेशमा मिसिनुको विकल्प हुने छैन,’ मेयर राणाले भने, ‘दाङ राजधानी तोक्नुहोस्, होइन भने हामीलाई कर्णालीमा जान दिनुहोस् । अन्यथा बाँके, बर्दियाका नागरिकले सरकारविरूद्ध सडक आन्दोलन गर्नुको विकल्प छैन ।’ मेयर राणाको चेतावनीसहित आग्रहत्मक प्रश्नको मुख्यमन्त्री पोखरेलले कुनै जवाफ नै दिएनन् ।
उनले यो राजनीतिक बहस र छलफलको विषय भएकाले प्रदेश संसदमा छलफलको तयारी भइरहेको बताए । यस क्षेत्रका आम नागरिकको पायक पर्ने स्थानमा राजधानी हुने आश्वासन मुख्यमन्त्री पोखरेलले यसअघि दिएपनि प्रदेशको राजधानी बुटवलमै बनाउँनेतर्फ भित्रभित्र उनीपनि हसमत भएको जानकारहरू बताउँछन् ।
आफूलाई मुख्यमन्त्री दिए प्रदेश राजधानी बुटवलमै बनाउने भनी उनले मुख्यमन्त्री हुँदा नै दलहरूसँग सहमति गरिसकेकोले अहिले मुख्यमन्त्रीलाई दाङ राजधानी बनाउनेतर्फ लविङ् गर्न गाह्रो भएको नेकपा निकट नेताहरूको भनाई छ । मेयर राणाको भनाईमा सहमति देखाउँदै बाँकेका संघीय सांसद नन्दलाल रोकाय, प्रदेश सांसद कृष्णा केसी ‘नमूना’, बाबुराम गौतम लगायतले प्रदेश राजधानी बुटवल हुन नहुने जिकिर गरे ।
उनीहरूले पनि यदि बुटवलमै राजधानी घोषणा भए आफूहरू कर्णालीमा मिसिनका लागि जस्तो सूकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए । सम्मेलनको उद्घाटनअघि मुख्यमन्त्री पोखरेलले गाउँपालिकामा नेता तथा कार्यकर्तासँग भेटघाट र गाउँपालिकाको नयाँ भवन निमार्णास्थलको अनुगमनसमेत गरेका छन् ।
सत्यपाटी ।