सूचनाको शक्ति - The Power Of Information

        

सस्तियो टेलिकम लिज लाइन इन्टरनेट महसुल

काठमाडौं । नेपाल टेलिकमले १ कात्तिकदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । पहिले न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने भएको छ । यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रतिएमबीपीएस ४२ सय रूपैयाँ रहेकोमा अब २ देखि २० एमबीपीएसको ब्याण्डविथ रेन्जको महसुल दर प्रतिएमबीपीएस २५ सय रूपैयाँ मात्र कायम गरिएको टेलिकमले जानकारी दियो ।

त्यसैगरी, पहिले ११ देखि १०० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रतिएमबीपीएस ४ हजार रूपैयाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रतिएमबीपीएस २३ सय रूपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रतिएमबीपीएस मात्र २१ सय रूपैयाँमा उपलब्ध गराइनेछ । टेलिकमका अनुसार पहिले १०० एमबीपीएस भन्दा माथिका लागि प्रतिएमबीपीएस ३८ सय रूपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रति एमबीपीएस १९ सय रूपैयाँमै उपलब्ध हुनेछ ।

कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर हुने र यस्तो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रूपमा उपलब्ध हुने टेलिकमको दाबी छ । लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिसहरू सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयहरूलाई ई–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ ।

त्यसकारण, मूलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालयहरू तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाहरूको सूचना, तथ्यांक तथा हिसाब अनलाइन गर्नुपर्ने संघरसंस्था र कम्पनीहरूका लागि यो सेवा निकै नै उपयोगी हुने बताइन्छ । पछिल्लो समयमा व्यक्ति तथा साइबर क्याफे र होटल तथा कलकारखानाहरूका लागि समेत यो सेवा फलदायी बनेको छ । देशभर रहेका टेलिकमका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ०९:०७