काठमाडौं । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फसाएको गुनासो गरेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्यमा देखिएको समस्याका कारण नर्भिक अस्पतालमा उपचार गराइरहेका महरा परिवारका सदस्य, चिकित्सक र सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिको पहुँचबाहिर छन् । उनी कुनै राजनीतिक व्यक्तिलाई भेट गर्नसमेत इन्कार गर्छन् । अस्पतालमा रहेका महरालाई २५ असोजको दिउँसो १ देखि करिब १ः३० बजेसम्म नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भेट गरे ।
३० वर्ष लामो कृष्णद्वयको सम्बन्ध
सिटौलासँगको भेटमा महराले आफूलाई फसाइएको भन्दै धरधरी रोएका थिए । अलग राजनीतिक आस्था राख्ने दुवै कृष्णबीचको सम्बन्ध तीन दशकभन्दा लामो छ । त्यसैले होला, सिटौलालाई भेट्नासाथ नर्भिकको बेडमा सुतिरहेका महरा निकै भावुक भएर हात मिलाए र आँखा जुधाए । ‘उहाँहरूको आँखा जुधाइमा न कुनै आक्रोश थियो न क्रोध नै । बरु दुवैको बोलीमा केवल त्रास र करुणा झल्कन्थ्यो,’ एक प्रत्यक्षदर्शीले भने ।
आफूलाई प्रहरीले पक्राउ गर्नुको घटना र बाहिर आएको हल्लामा निकै भिन्नता रहेको दाबी महराले गरेका थिए । उनले आफूलाई यो अवस्थामा ल्याउन ‘परिवर्तन विरोधी, शान्ति प्रक्रियालाई टुंग्याउन नदिने देशी विदेशी तत्वहरूको खेल’ भएको गुनासो गरे । महराको भनाइमा सिटौलाले पनि सहमति जनाए । उनले सरकार र सरकारको नेतृत्वप्रति फरक मत वा असहमत राख्ने विपक्षी दल होस् वा सत्तारुढ दलका नेतालाई एकपछि अर्को गर्दै विवादमा तान्ने र राजनीति ड्यामेज गर्ने अभियानलाई नै शुरू गरेको अनुभव गरेको बताएका थिए ।
महरालाई नेकपा सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत भेट्न खोजेका थिए । तर, महराले ‘किन भेट्न पर्यो ?, अहिले भेटेर के हुन्छ ?’ भनी प्रतिप्रश्न गरेका थिए । आफूलाई १९ असोजमा गिरफ्तार गरेपछि नेकपाका नेतामध्ये पूर्वमाओवादी नेता र कार्यकर्ताले ‘कालो दिन’ र पूर्वएमालेले ‘आत्महत्या गरे हुने’ भनेर प्रतिक्रिया दिनुले उनीमाथि प्रतिशोध भएको दाबी गरेका थिए ।
प्रधानमन्त्रीले असहमति जनाए
सिटौलासँगको भेटमा महराले आफू सभामुख भएदेखि नै प्रधानमन्त्रीले गुनासो र असहमति राखेको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाबाट ५३ अर्ब सहयोग प्राप्त गर्न मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) परियोजना संसदबाट अनुमोदन गर्न सुझाव दिएका थिए । त्यो परियोजना चिनियाँ आर्थिक सहयोग रणनीति बीआरआईको समानान्तरमा संयुक्त राज्य अमेरिकाले अघि सारेको एसिया प्यासिफिक स्टाटेजी (एपीएस)को रणनीतिक योजनाभन्दा तत्काल अघि बढाउन महराले अस्वीकार गरेका थिए ।
महराले संसदमा सत्तारुढ दलको अध्यक्षको हैसियतले पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख सचेतक देव गुरुङसँग सल्लाह पनि गरेका थिए । तर, त्यस सम्बन्धमा पार्टीले स्पस्ट दृष्टिकोण नबनाएको भन्दै महराले सो प्रस्ताव रोकेका रहेछन् । यस्तो प्रस्ताव रोकेर सरकारलाई असहयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन सभामुख महरासँग रुष्ट रहेछन् ।
ओली रुष्ट बन्नुको अर्को कारण हो संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर चलाउँदा विपक्षी दलका सांसदले गरेका प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘निम्छरो’ शब्द । निम्छरो शब्दलाई लिएर प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले शब्द फिर्ता लिनुपर्ने अडान राखेर हंगामा मच्चाएपछि तत्कालीन सभामुख महराले सो शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।
आफूले बोलेको भनाइलाई रेकर्डबाट हटाउने विषयमा समेत ओली आफूसँग रुष्ट बनेको सिटौलासँग महराले गुनासो गरेको ती प्रत्यक्षदर्शी बताउँछन् । ‘प्रधानमन्त्रीजी असहमती राख्ने नेतालाई प्रतिशोध राख्नुहुँदो रहेछ’ महराको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शीले भने, ‘माओवादी सेनाका लडाकुको रासन, भत्ता र शिविरमा भएको खर्चको हिसाब माग्नुभयो ।’
महराले तत्कालीन समयमा सहमतिमा हस्ताक्षरकर्ता, सरकार र तत्कालीन माओवादी अध्यक्षलाई समेत थाहा हुने जवाफ दिएका थिए । लडाकु शिविरको प्रकरणका विषयमा जोजो संलग्न छन्, उनीहरुलाई ठीक लगाइदिने भनेर ओलीले चेतावनी दिएको महाराको गुनासो गरेका थिए । ओलीले बारम्बार लडाकु शिविरमा भएको भ्रष्टाचारको विषय उठाएर आफूलाई मानसिक तनाव दिने गरेको गुनासोसमेत गरेका थिए ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालका घटनालाई किनारा लगाउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न अनेक बहाना देखाएर काम नगर्ने र कुनै न कुनै रूपमा पूर्वमाओवादीलाई फसाउने योजना रहेको गुनासो गरेका थिए । सिटौलासँग महराले आफूलाई प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलप्रति नरम व्यवहार गरेको, संसदीय समितिले जथाभावी निर्देशन दिएर सरकारलाई काम गर्न नदिएको अवस्थामा समेत सरकारको रक्षाकवज नवनेको भन्दै आक्रोश पोखेको गुनासो गरेका थिए ।
अनुसन्धानका ३०० प्रहरीले मेरो पिछा गर्थे
आफ्नो पिछा गर्न सरकारले करिब तीन सयको संख्यामा अनुसन्धान विभाग र नेपाल प्रहरीलाई खटाएको आफ्नो आवागमनको निगरानीका लागि सीसीटीभी जडान गरिएको, आफूसँग सल्लाह नगरी प्रचण्डको इशारामा चलेकोजस्ता आरोप लगाएको भन्दै महराले सिटौलासामु लामो दुखेको पोखेका थिए । रोशनी शाहीसँगको सम्बन्धको विषयमा भने महराले आफूलाई ती महिलाले शारीरिक हमला गरेको दाबी गरेका थिए ।
तत्कालीन विद्रोही माओवादीको तर्फबाट कृष्णबहादुर महरा र सात राजनीतिक दलको तर्फबाट कृष्णप्रसाद सिटौलाले २०६२ सालमा १२ बुँदे समझदारीको खेस्रा तयार गर्ने र सहमति जुटाउने भूमिका खेलेका थिए । २०६२÷०६३ सालको जनआन्दोलनपछि महरा विद्रोही माओवादीको वार्ता टोली संयोजक भए पनि सिटौला सरकारी वार्ता टोलीको संयोजक भए । विस्तृत शान्ति सम्झौताको मस्यौदा तयार गर्न र नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा तयार गर्नसमेत दुवै कृष्णको भूमिका थियो ।
२०६५ भदौमा प्रचण्ड नेतृत्वको सरकार बन्नुअघि महरा र सिटौला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा मन्त्री थिए । शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन र संविधानसभा निर्वाचन गराउन तथा संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा गराउन दुवै कृष्णको भूमिका महत्त्वपूर्ण थियो । सिटौलाले व्यक्तिगत सम्बन्धका कारण महरालाई भेट्न अस्पताल पुगेको बताएपनि यतिलामो अनतरंग कुराकानी किन भयो भन्ने बषिय भने रहस्यमय छ । महराको निकै लामो गुनासो सुनेपछि सिटौलाले पनि आफूलाई संसदीय निर्वाचन हराउनका लागि ‘गणतन्त्रविरोधी राप्रपासँग ओलीले साँठगाँठ गरेको’ गुनासो गरेका थिए ।
सत्यपाटी ।