सूचनाको शक्ति - The Power Of Information

        

गाभर भ्यालीमा आन्तरिक पर्यटक बढ्दै, घरवास सञ्चालक उत्साहित

बाँके । बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभ भ्याली सामुदायिक घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे छ । नेपाल सरकारले सूचीकृत गरेका प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।

उनका अनुसार, बाँके, बर्दिया मात्र भई कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ का अन्य जिल्लाबाट बढी मात्रामा घरवासमा पाहुना घुम्न आउने गरेका छन् । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

थारू र मुगाली समुदायद्वारा सञ्चालित उक्त घरवासमा दैनिक करीब ५०० पर्यटक पुग्ने गरेका छन् । सो घरवासमा दशैँका बेलासमेत आन्तरिक पाहुनाको चहलपहल नघटेको चौधरीको भनाइ छ । बाहिरी जिल्लाका साथसाथै पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरवासमा घुम्न आउने गरेका उनले बताए । ‘यतिबेला बाहिरी जिल्लासँगै बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ,’ चौधरीले भने, ‘दशैँ मान्न गृहजिल्ला आएकाहरु समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।’

काठमाडौँमा इञ्जिनीयरिङ अध्यापन गर्दै आएका नेपालगन्ज उपमानगरपालिका–१० का नरेश श्रेष्ठले दशैँ बिदामा घर आएका बेला घरवासको स्वाद चाख्न गाभर पुगेको बताए । काठमाडौँमा बस्दा गाभर होमस्टेबारे जानकारी पाएकाले अहिले दशँँै बिदाका बेला गाभर पुग्ने अवसर मिलेको उनले उल्लेख गरे । दशैँ पर्वमा समेत पाहुनाको चहलपहलले घरवास सञ्चालक उत्साहित भएका अध्यक्ष चौधरी बताउँछन् ।

दशैँका अवसरमा पोखरा, काठमाडौँ लगायतका ठाउँबाट पर्यटन व्यवसायीसमेत गाभर भ्याली घुम्न आएका छन् । यहाँ लगानीसँगै घरवास र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएका अध्यक्ष चौधरीले बताए । उनका अनुसार, पुराना घरवासलाई पूर्वाधारयुक्त बनाइएको छ भने तीन निजी घरवास र दुई होटल थपिएका छन् । गाभर भ्याली सामुदायिक घरवासकै च्यामा क्षेत्रका रूपमा अहिले च्यामामा पनि घरवास विस्तार भएका छन् ।

च्यामामा करीब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधासम्पन्न रिसोर्ट प्रकारको घरवास सञ्चालनमा ल्याएका छन् । घरवासभन्दा अलि फरक तरिकाले सुविधासम्पन्न होटलका रुपमा विकास गर्ने योजना रहेको उनले बताए । ‘होमस्टे धेरै भइसकेका छन्, त्योभन्दा अझ राम्रो सुविधा खोज्ने पाहुनालाई आकर्षित गर्न ठूलो लगानी गरेको हुँ,’ उनले भने, ‘पाहुनाको कमी छैन, त्यसैले सेवा र सुविधा विस्तार गर्न लागेका छौँ ।’

विसं २०७० मा शुरु भएको गाभर भ्याली घरवास अहिले नेपालकै नमूना घरवासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरवास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको अध्यक्ष चौधरीले बताए । सो घरवासमा शुरूका दिनमा रु २०/३० हजारबाट व्यवसाय शुरू गरिए पनि अहिले कुनै घरले रु २० लाख र कुनैले रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाइ छ ।

‘हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ, यस्ता सवाल उठान गर्ने गाभर भ्याली होमस्टे एउटा होमस्टे मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको शुरुआत गर्ने स्थल हो,’ चौधरीले भने, ‘गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।’ बाँकेको पहिलो सामुदायिक गाभर भ्याली घरवासमा १७ घरले आन्तरिक पाहुनालाई स्वागत सत्कार गर्दै आएका छन् । रासस

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार ११:१५