सूचनाको शक्ति - The Power Of Information

        

हिन्दू नेताको गोली हानेर हत्या

बाँके । भारतको उत्तर प्रदेश राज्यको लखनउमा हिन्दू समाज पार्टीका नेतामाथि गोली प्रहारका साथै घाँटी रेटेर हत्या गरिएको छ । हिन्दू समाज पार्टीका नेता कमलेश तिवारीमाथि गोली प्रहार गर्नुका साथै घाँटी रेटेर हत्या गरिएको हो ।

गोली र धारिलो हतियार प्रहारबाट गम्भीर घाइते बनेको तिवारीको आना फनान ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको घाँटीमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले नेता तिवारीमाथि गोली प्रहार हुनुका साथै धारिलो हतियारसमेत प्रयोग गरेको पुष्टि गरेको छ ।

नेता तिवारीमाथि खुसर्दी बागस्थित हिन्दू समाजवादी पार्टीको कार्यालयमा एक आक्रमणकारीले मिठाइका डिब्बामा चक्कु र पेस्तोल लुकाएर ल्याई आक्रमण गरेका थिए । आक्रमण लगत्तै ती व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले नेता तिवारीको फोनको डिटेल जनाकारी लिनुका साथै चारैतिर निगरानी बढाएको छ ।

प्रहरीले घटनास्थलबाट चक्कुका साथमा कारतुस नामक पेस्तोलसमेत बरामद गरेको छ । हिन्दू महासभाका नेता तिवारीले डिसेम्बर २०१५ मा पैगम्बर महम्मदका विरुद्ध विवादास्पद बयान दिएका थिए । यसलाई लिएर लखनमा ठूलो हंगामा भएको थियो । त्यसपछि उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । हालसालै रिहा भएका उनीमाथि लागेको आरोप इलाहावादको उच्च अदालतले खारेज गरिदिएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार १९:०६