सूचनाको शक्ति - The Power Of Information

        

सुनिल र मनिसा बने बझाङ तारा

बझाङ । सदरमुकाम चैनपुरमा लाग्ने शिलदेवी मेलाको अवसरमा साँस्कृतिक कला प्रतिष्ठान केन्द्र नेपालले आयोजना गरेको बझाङ अडिसनको फाइनल कार्यक्रम सकिएको छ । आइतवारबाट सुरु भएको अडिसनमा कलाकार सुनिल नेपाली र मनिसा सिंह बझाङ तारामा विजेता भएका छन् । कलाकार सुनिल गायन विधामा र मनिसा नृत्य विधामा विजेता भएकी हुन् ।

अडिसनको आयोजना गरेको कला साँस्कृतिक प्रतिष्ठान केन्द्र नेपालले जिल्लाका गाँउपालिका स्तरीय र निर्वाचन स्तरीय अडिसन गरेर जिल्लामा बझाड स्टारसहित टप पाँच कलकार छनौट गरेको हो । गायन विधामा बुंगोल नगरपालीकाकी आशिका कुँवंर प्रथम भएकी छन् भने दोस्रो शानि विक, तेस्रो शिशिर बोहरा र चौथो किरण धामी भएका कार्यक्रमका आयोजक केशवराज जोशीले बताए ।

साथै नृत्य विधामा आयुस्मा चित्रकार प्रथम भएका छन् भने एलिसा शाही दोस्रो, रोजी खड्का तेस्रो र इश्वर कठायत चौथो भएका छन् । कलाकारहरुलाई आफुले छनोट गरेको गीत र गाउन नृत्य गर्न दिएको थियो । कला सांस्कृतिक केन्द्र नेपालले दुई महिनाअघि गाउँपालिका स्तरीय हुँदै क्षेत्रीय अडिसन गरेर १७ औं अडिसनपछि जिल्ला अडिसनका लागि कलाकारहरु छनोट गरेको थियो ।

बझाङ ताराको अडिसनका लागि नृत्य विधामा ४० जना कलाकार प्रतिश्पर्धामा थिए भने गायन विधामा ३० जना सहभागी थिए । बझाङ अडिसनको मुल्याङ्कनका लागि राष्ट्रिय कलाकार प्रकाश कँडेल (गुलेली कान्छा)ले भने, ‘बझाङजस्तो दुर्गम जिल्लामा पनि यस्ता प्रतिभावान कलाकारहरु छन् भनेर मैले कल्पनासमेत गरेको थिइन ।’

उनले छनोट भएका कलाकारलाई अझ अवसर र अभ्यास पाएमा राम्रो कलाकार हुनसक्ने बताए । उनको साथमा मूल्याङ्कन गर्न कलाकार टंक तिमिल्सिना, विष्णु थापा सर्गमले पनि बझाङका कलाकारहरुको प्रसंसा गरेका थिए । प्रतिश्पर्धामा सहभागी कलाकारहरुले भने गाँउघरमै नै अभ्यास गरेको जानकारी दिएका थिए ।

विगत लामो समयदेखि जिल्लाको कला संस्कृति र कलाकारको क्षमता विकास गर्दै आएका केशवराज जोशीले बझाङ आइडलबाट छनोट भएका टप पाँचमा पुगेका कलाकारलाई प्रदेश र केन्द्रस्तरमा हुने नेपाल आइडलमा समावेश हुनका लागि पहल गर्ने र छमछमि कार्यक्रममा पनि सहभागि गराउने लक्ष रहेको बताए ।

पछिल्लो चरणमा युवा युवतिहरुको कलाकारिता क्षेत्रमा अभिरुचि बढ्दै गएको छ । यसअघि पनि बझाङ जिल्लाबाट राष्टियस्तरको बाल प्रतिभामा अस्मिता बुढा प्रथम भएकी थिइन् भने कलाकार अनुप विष्ट पनि जिल्लाबाटै छनोट भएर अहिले काठमाडौंमा रहेर कलकारिता क्षेत्रमै काम गरिरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १७:४२