बाँके । बाँकेमा फैलिएको फौजी किरा (आर्मी वर्म) नियन्त्रण बाहिर देखिएको छ । सुरुमा राप्तीसोनारी गाउँपालिकाको वडा नं.३,४,५,६ र ७ मा, डुडुवा गाउँपालिकाको वडा नं.४,५ र ६ मा तथा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १९ मा देखिएको फौजी किरा जिल्लाभर फैलिएको छ ।
विषादी हाल्दा पनि फौजी किरा नियन्त्रणमा आउन सकेको छैन । प्रभावित क्षेत्रमा विषादी हाले पनि फौजी किरा नियन्त्रणमा आउन नसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सुरुमा ३०० हेक्टरमा देखिएको फौजी किरा अहिले ७०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । नियन्त्रणका लागि भने स्थानीय तहहरुले समन्वय गर्न नचाहेको ज्ञान केन्द्रको गुनासो छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमूख सागर ढकालले केन्द्रसँग रहेको रु.८० हजार खर्च भइसकेकोले विषादी खरीद गर्न बजेट अभाव रहेको बताए । ‘हामीसँग भएको बजेट सकिएको छ, थप मन्त्रालयमा माग गरेका छौं । स्थानीय तहहरु भने बजेट छैन भन्दै पन्छिएका छन् । एकै रातमा फौजी किराले १०० हेक्टरसम्म धान खेती नष्ट गर्ने गरेको छ,’ उनले भने ।
फौजी किरा फैलिने क्रम बढेपछि नियन्त्रण गर्न कठिनाई भइरहेको केन्द्र प्रमुख ढकालले बताए । ‘किरा लागेको क्षेत्रमा विषादी हालिरहेका छौं,’ ढकालले भने, ‘विषादी छर्किएको स्थानमा सामान्यरुपमा नियन्त्रणमा आए पनि नयाँ नयाँ स्थानमा फैलिरहेको छ । किरा फैलिने क्रम कति पनि रोकिएको छैन । यसका लागि स्थानीय तहहरुले समन्वय र चासो देखाएका छैनन् ।’
किरा फैलिएको प्रभावित क्षेत्रमा निरन्तर विषादी छर्किरहे पनि नियन्त्रणमा आउन नसकेको किसानहरुको गुनासो छ । पाकिसकेका धानको बाला फौजी किराले काटेर भुइँमा खसाउँदा क्षति पुगेको भन्दै किसानहरुले राहत दिनसमेत सरकारसँग माग गरेका छन् । ‘विषादी छर्र्किरहेका छौं, किराको प्रकोप घटेको छैन,’ डुडुवा गाउँपालिका–५ की स्थानीय रिता थापाले भनिन् ।
लाम लागेर घस्रिँदै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने फौजी किराले छोटो समयमै पाक्न लागेको धानबाली नष्ट गरेको थापाले बताइन् । ‘कतिपय किसानले फेरि विषादीको खोजी गरिरहेका छन् । कतिपयले आफै विषादी ल्याएर प्रयोग गरिरहेका छन्,’ उनले भनिन् । पिठ्यूँतिर शिरदेखि पुछारसम्म तीन वटा धर्का देखिने किरा जिल्लाभर फैलिएपछि किसानहरु आतंकितसमेत बनेका छन् ।
डुडुवा गाउँपालिका–३ का रामदिन यादवले पाकेको धानको बाला काटेर भुइँमा झरिदिँदा ठूलो नोक्सानी बेहोर्नुपरेको बताउँदै प्रभावित किसानहरुलाई सरकारले राहत दिन माग गरे । ‘धान बालीमा ठूलो क्षति पुगेको छ । औषधि छर्दा पनि किरा मरेका छैनन् । धानको बाला जति भुइँमा झरेको छ,’ उनले भने, ‘दिउँसो हेर्दा धान सग्लो देखिएको धान रातभरमा सखाप हुन्छ । यस्तो बेलामा सरकारले किसानहरुलाई राहत दिनुपर्छ ।’
किरा नियन्त्रणका लागि विषादी छर्कने कार्य सुरु गरे पनि पर्याप्त मात्रामा विषादी नहुँदा समस्या देखिएको किसानहरुको गुनासो छ । पाकिसकेका धानको बाला फौजी किराले काटेर भुइँमा खसाउँदा क्षति पुगेको छ । बाँकेसँगै बर्दियाका भिभिन्न स्थानमा पनि फौजी किराको प्रकोप फैलिएको छ । ज्ञान केन्द्रका प्रमुख ढकालले भनिन्, ‘प्रभावित क्षेत्रमा विषादी छर्किनुका साथै किरा रोकथाम र नियन्त्रणका लागि किसानहरुलाई सचेतनासमेत दिइरहेका छौं ।’
किसानहरुले पाकिसकेको धान जोगाउन किसानहरुले कृषि ज्ञान केन्द्र र स्थानीय तहसँग हारगुहार गरिरहेका छन् । डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमूख सुशील शर्माले भने, ‘प्रकोप नियन्त्रणका लागि स्थानीय तहबाट पनि किसानहरुलाई विषादी सहयोग गरिरहेका छौँ । प्रकोप उच्च देखिएको छ । अहिलेसम्म नियन्त्रण हुन सकिरहेको छैन । कतिपय किसानले धान काटेरै फालेका छन् । हामीले किरा नियन्त्रणका लागि सबै विकल्पहरु प्रयोग गरिरहेका छौं ।’
फौजी किरा दिनभर धानको गाँजमा लुक्ने र राती एकसाथ फौजी शैलीमा धानबालीमा आक्रमण गर्छ । फौजी शैलीमा किराले धानको बालामा आक्रमण गर्ने भएका कारण कृषिविज्ञ ‘आर्मी वर्म’ नाम दिएका हुन् । नेपालीमा फौजी किरा भन्ने गरिएको हो । किराले खानेभन्दा बढी काट्ने नोक्सान गर्ने हँुदा खेतैभरि धान खसेको देखिन्छ । किरा मार्न एनपीभी नामक भाइरस आवश्यक पर्छ ।
भाइरस उत्पादनका लागि त्यही किरा पाल्नुपर्ने र भाइरस सारेर किरा मारेर पोट्रिन उत्पादन गर्नुपर्ने कृषि विज्ञको भनाइ छ । फौजी किराको संक्रमण देखिएपछि कृषि अधिकारीहरुले किसानलाई इमिडा क्लोप्रिट नामक विषादी छर्ने सुझाव दिएका छन् । पानीमा उक्त विषादी मिसाएर छरे फौजी किराको प्रकोप नियन्त्रणमा आउने उनीहरुको सुझाव छ ।
सत्यपाटी - ।