नवविनोद पोखरेल
नेपाल आयल निगम लिमिटेड इन्धन डिपो नेपालगन्ज तत्कालिन अवस्थामा मिति २०३३ सालमा मध्यपश्चिमाञ्चल क्षेत्रिय कार्यालयको रुपमा स्थापना भएको र मुलुक संघिय संरचनामा गइसकेपछि प्रादेशिक कार्यालय ५ अन्तरगतका मध्यपश्चिम क्षेत्रका ११ वटा जिल्लामा पेट्रोलियम पदार्थको सप्लाई मिलाउने कार्यमा व्यस्त डिपोे हो । पेट्रोलियम पदार्थ आपूर्ति तथा विक्री वितरणका लागि स्थापना भएको यस कार्यालयले ४ विगाहा ७ कठ्ठा ६ धुर जमिन ओगटेको छ ।
बाँके, बर्दिया, दाङ्ग, सल्यान, प्यूठान, रुकुम, रोल्पा, जुम्ला, सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लाहरुमा अधिकृत विक्रेताहरु नियुक्त गरेर तीनै अधिकृत विक्रेताको माध्यमबाट पेट्रोलियम पदार्थ विक्री वितरणको व्यवस्था मिलाउँदै आएको छ । पेट्रोलियम पदार्थको आयात भारतको गोण्डा तथा इलाहावाद डिपोबाट भइरहेको छ । आयातमा करिव १२० टैंक ट्रक संलग्न छन् । ढुवानी व्यवसायीहरुसँग यस्ता टैंक ट्रक सम्झौता गरी भाडामा लिइएको हुन्छ । नेपाल आयल निगमले यिनै टैंक ट्रकलाई पेट्रोलियम पदार्थको आयातका लागि प्रोडक्ट डेलिभरी अर्डर (पिडिओ) आइओसी पठाई आवश्यकता अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धन आयात गर्ने गर्छ ।
यस्तो छ, पेट्रोलियम पदार्थको बार्षिक वृद्धि
प्राप्त भएका कतिपय टैंक ट्रक विक्रेताको माग अनुसार आवश्यक प्रक्रिया पुरा गरी बजार पठाउँछ भने कतिपय टैंक ट्रकहरु स्टोरेज (भण्डारण) मा खन्याउने कार्य गर्दछ । भारतीय आयल निगम गोण्डाबाट पेट्रोलियम पदार्थ लोड लिई इण्डियन कष्टम तथा नेपाल कष्टम पार गरी निगममा आइपुग्न सामान्यतया दुई दिन लाग्ने गर्छ । कहिलेकाहीँ कष्टम प्वाइन्टहरु अन लाइन भएका कारण लिंक फेल भएर भन्सार पास हुन नसक्दा बढी समय पनि लाग्ने गर्छ । धेरै अगाडी खुलेको यस डिपोको तत्कालिन अवस्थामा बनेका भौतिक पूर्वाधार वाहेक थप नयाँ पूर्वाधार वन्न सकेको छैन ।
विकासका पूर्वाधारहरुको वृद्धि सडक सन्जाल तथा विकास निर्माणको गति, सवारीसाधनको प्रयोगकर्तामा वृद्धि आदिका कारण पेट्रोलियम पदार्थको खपतमा अत्याधिक वृद्धि भएकोछ । विशेषतः पेट्रोल १र२ बर्ष अगाडी सम्म दैनिक ८० हजार लिटर विक्री भइरहेकोमा यस बर्षदेखि पेट्रोलको वृद्धि ह्वातै बढेर दैनिक एक लाख ६० हजार पुगेको छ । निगमसँग पेट्रोलको स्टोरेज क्षमता दुई लाख १० हजार लिटरको मात्र छ । यसरी हेर्दा कहिले काँही इण्डियमा लोडिङ्गको समस्या, भन्सारको समस्या वा सामान्य दैवि घटना घटेको अवस्थामा निगमलाई पेट्रोलियम पदार्थको विक्री वितरण मिलाउन अत्यन्त धौधौ परिरहेको अवस्था छ ।
बढ्दो पेट्रोलियम पदार्थको कारोबारलाई कसरी व्यवस्थापन गरिँदैछ त ?
यस डिपोसँग हाल पेट्रोल २१० केएल, डिजल दुई हजार २८० केएल, मट्टितेल ७६० केएलको स्टोरेज क्षमता रहेको छ । पछिल्लो चरणमा मट्टितेलको डिमाण्ड ह्वातै घटेको छ । हाल भइरहेको मट्टितेलको टैंकलाई पेट्रोल टैंकमा कन्भरसन गरिने कार्य अगाडी बढाइने र यो पुरा भएपछि डिपोको पेट्रोलमा रहेको एउटा टैंकीलाई मट्टितेलमा कन्भरसन गरिनेछ जुन ७० केएलको हुनेछ । तत्पश्चात डिपोमा पेट्रोलको स्टोरेज क्षमता ९०० केएलको हुनेछ ।
डिजल दुई हजार २८० केएल र मट्टितेल ७० केएलको हुनेछ । यसबाट हालको बजारको मागलाई कम्तीमा ३–४ दिन धान्न सकिने अवस्था रहन्छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने पेट्रोलियम पदार्थको मौज्दात कम्तीमा ९० दिन पुग्ने राखेको पाइन्छ । नेपाल आयल निगमले समग्रमा नयाँ भौतिक पूर्वाधार तयार गर्न सकिरहेको छैन यस सम्वन्धमा कुरा गर्दा लामो समय निगमले अन्तराष्ट्रिय मूल्य अनुरुप स्थानिय बजार समायोजन नभएका कारण नोक्सानी व्यहोरर्नुपर्दा थप भौतिक पूर्वाधार नबनेको हो । राज्यले समय समयमा स्टोरेज क्षमता ९० दिनको लागि राख्ने भनिए पनि आजसम्म यो पुरा हुन सकेको देखिँदैन ।
हालको निगमको नेतृत्वले यसतर्फ विभिन्न स्थानहरुमा भौतिक पूर्वाधारलाई अपग्रेड गर्ने र सम्भव भएका स्थानहरुमा नयाँ निर्माण गरी स्टोरेज क्षमता वृद्धि गर्ने कार्य गर्न प्रारम्भ गरेको व्यहोरा बताउँछन् । नेपालगन्ज क्षेत्रमा पनि हालको डिपो स्थान वरपर सार्वजनिक जग्गा प्राप्त हुन सकेमा हाल एउटै प्राङ्गणबाट हवाई इन्धन र अन्य इन्धनको कारोबार भइरहेकोमा हवाई इन्धनलाई छुट्टै कार्यालय बनाउन नागरिक उडड्यनको हाताभित्र वा अन्य सरकारी जग्गा प्राप्त हुन सकेमा सो क्षेत्रमा लानेतर्फ सोच बढाएको र यी दुवै हुन नसकेको खण्डमा हालको डिपो वरपर रहेका जग्गाहरु अधिग्रहण गरी थप स्टोरेज क्षमता बढाउने योजना छ । (नेपाल आयल निगम नेपालगन्ज डिपोका प्रमूख नवविनोद पोखरेलसँग सत्यपाटीले गरेको कुराकानीको सम्पादित अंश)
नवविनोद पोखरेल ।