सूचनाको शक्ति - The Power Of Information

        

‘जनताका अपेक्षा पुरा गर्न व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ’

‘स्वच्छ छवि, असल समाजसेवी’का रुपमा चिनिने डुडुवा–५ का वडाध्यक्ष पर्शुराम बुढाथोकी भन्छन् :

उमेर ६ दशक कटिसके । पञ्चायत विरोधी आन्दोलनसँगै राजनीतिमा सक्रिय पर्शुराम बुढाथोकीको जोसजाँगर अहिले पनि उस्तै छ । सरल, सभ्य र इमान्दारिता उनको पहिचान हो । गाउलेहरुले असल र सहयोगी समाजसेवीको रुपमा लिन्छन् । ६० बर्ष नाघेका र पञ्चायत व्यवस्था भोगेका उनी एउटा असल, इमानदार वडाध्यक्षको रुपमा डुडुवामा परिचत छन् ।

पञ्चायती व्यवस्थासँगै बढेको वितृष्णाका कारण समयले उनलाई राजनीति र समाज सेवातर्फ अघि बढायो । जीवनमा अनेक मोडहरु घुमे, अनेक आरोह र अवरोह सहे । तर, इमान र जमानसँग कहिल्यै सम्झौता गरेनन् । बुवा शान्तविर र आमा मोहनकुमारीसँगै उनको परिवार बसाईसराई गरेर बाँकेमा आयो । सल्यानमा जन्मिएर १२ बर्षकै उमेरमा तराई झरेका उनले नेपालगन्जस्थित मंगलप्रसाद माविबाट एसएलसीसम्मको अध्ययन गरे । त्यसपछि भने उनले अध्ययन पुरा गर्न सकेनन् ।

२०३६ सालमा नेपाली काँग्रेसबाट राजनीति सुरु गरेका उनी २०४२ सालमा जिल्ला समिति सदस्य, २०४७ सालमा महाधिवेश प्रतिनिधि बने । २०४६ सालमा उनले दुई महीने जेल जीवन बिताउनुप¥यो । २०४८ सालमा काँग्रेसले कारबाही गरेपछि उनी पार्टीसँग विच्छेद भए । २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका कार्यक्रमबाट प्रभावित भएका बुढाथोकी सोही समयमा नेकपा एमालेमा प्रवेश गरे । एमाले प्रवेशपछि इलाका नं. ५ को सदस्य र सचिव भएर पार्टी संगठनमा सक्रियपूर्वक लागे ।

२०५४ को स्थानीय निर्वाचनमा बुढाथोकी कम्दी गाविसको उपाध्यक्षमा निर्वाचित भएसँगै उनको सामाजिक तथा राजनीतिक सेवाले थप निखारता पायो । गाविसमा विकास निर्माणका कामहरु गरेर उनी सबैका प्रिय बने । नेकपा विभाजनपछि उनी बामदेव गौतमले नेतृत्व गरेको नेकपा मालेतिर लागे । तर उनी त्यहाँ धेरै टिक्न सकेनन् र उनी पुरानै पार्टी एमालेमा फर्किए । दुई कार्यकाल जिल्ला कमिटी सदस्य भएका बुढाथोकीले २०७४ को स्थानीय तहको निर्वाचनमा ९५१ मत ल्याएर डुडुवा गाउँपालिका–५ बाट वडाध्यक्षमा विजयी बने । निर्वाचन जितेसँगै उनको सामाजिक प्रतिष्ठा थप बढ्यो ।

वडाध्यक्षमा विजयी भएपछि उनले विकास निर्माणलाई तीव्रता दिएका छन् । कच्ची बाटोघाटो, पुल पुलेसा, भवन लगायतका कामहरु तीव्ररुपमा अघि बढाएका छन् । ‘विकास जादुको छडी होइन विस्तारै हुने कुरा हो,’ उनको भनाई छ, ‘हामीले वडाभित्रका सबै सडक हिलोमुक्त गरिसक्यौं, अझै स्तरोन्नतीका धेरै काम बाँकी छन्, विस्तारै हुँदै जान्छन् ।’ सिमित स्रोत साधन र जनशक्ति अभावमा पनि धेरै काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । हामीले जसरी हुन्छ, जनताको अपेक्षा अनुसार धेरैभन्दा धेरै कामहरु सम्पन्न गर्ने कोशिष गरिरहेका छौं । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, वातावरण लगायतका धेरै क्षेत्रलाई व्यवस्थित गर्दै भौतिक पूर्वाधारहरु निर्माण, मर्मत र स्तरोन्नति गर्नुपर्नेछ ।

वडापालिकाले गत आर्थिक बर्षमा करिब दुई करोड रुपैयाँमा तटबन्ध, कच्ची सडकको स्तरोन्नती, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा खर्च गरिसकेको छ भने चालु आर्थिक बर्षमा दुई करोड रुपैयाँ बराबरका ठूला आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । जसमा पक्की सडक निर्माण तथा कच्ची सडकको स्तरोन्नति, विद्युतीकरण, पर्यटकीय स्थल निर्माण, स्वास्थ्य चौकीको स्तरोन्नति लगायतका क्षेत्रमा खर्च गर्नेछ । वडाध्यक्षमा इमान्दारिता र पारदर्शिता भएकै कारण विकास निर्माणका कामहरु विवादरहित हुने गरेका छन् । किनभने विगतको उनको त्यो स्वच्छता र इमान्दारिताको नतिजा हो । सरल स्वभाव र स्वच्छ छविले आफूलाई वडाबासीहरुले थप अभिप्रेरित गर्ने गरेको बताए ।

समाजसेवा आत्मा चाहना र आत्मा सन्तुष्टिका लागि भएको उनको बुझाई छ । ‘समाजसेवा निस्वार्थ हुनुपर्छ । तर, आजभोली प्रत्येक क्षेत्रमा स्वार्थीहरुको प्रवेश भएको छ । सिद्धान्त र व्यवहार फरक कुरा हुन् भनेर त्यसलाई अनुसरण गरेको पाइँदैन । सिद्धान्त अनुसार चल्ने हो भने नाम अनुसार सबै काम हुन्छन् । समाजसेवी शब्द जस्तो छ, त्यसको पनि मान राख्नुपर्छ । मैले बुझेको समाजसेवा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको सर्वोपरि हितका निम्ति लाग्नु हो ।’ समाजको यही भावनालाई बुझ्ने र आलोचना खप्न सक्ने तथा आत्मालोचना गर्न सक्ने इमान्दार व्यक्तिहरुलाई समाजले चिनेर अगाडि ल्याउनुपर्ने उनले बताए । (बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष पर्शुराम बुढाथोकीसँग सत्यपाटीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १२:२६