बाँके । बडादशैंँका अवसरमा बाँके र बर्दियाका महिलाहरुले दशैंमा मात्र रु.५ करोड २५ लाख मूल्य बराबरका खसीबाका बिक्री गरेका छन् । पछिल्लो समय मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियका गृहणी महिलाहरुले ढकेरीस्थित सामाजिक उद्यमी जिल्ला सहकारी संघमार्फत बिक्री खसीबोका गरेका हुन् ।
उद्यमी महिलाले स्थापना गरेको संघमा आवद्ध बाँकेका १५ वटा र बर्दियाका चार सहकारीका सात हजार बढी सदस्य रहेका महिलाले उत्पादन गरेका तीन हजार ५०० खसीबोका दशैमा बिक्री भएको संघकी अध्यक्ष गंगा चन्दले बताइन् । बाँके र बर्दियाका विभिन्न गाउँबाट खरिद गरी ल्याएका खसीबोका सहकारी संघमार्फत महिलाहरूले सहकारीमै उत्पादन भएका खसीबोका पनि बिक्री गरेका छन् ।
यस वर्षको दशैँमा बाँके, बर्दिया र दाङमै सबैभन्दा बढी खसीबोका बिक्री सामाजिक सहकारी संघले जनाएको छ । सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट संकलन गरेर सहकारीमार्फत नै व्यापारीलाई बिक्री गरिएको संघकी अध्यक्ष चन्दले बताइन् । सहकारीले उत्पादन गरेका खसीबोका थोरै मात्र बाँकेमा खपत भएको र अन्य सबै जिल्ला बाहिर एवम् संघीय राजधानी काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।
सहकारीले एउटा खसीबोकाको मूल्य औसतमा रु.१५ हजारसम्म परेको जनाएको छ । सहकारी संघकी अध्यक्ष चन्दका अनुसार गतबर्षको तुलनामा यसपालीको दशैंमा खसीबोका धेरै बिक्री भए पनि बजार मूल्य घटेको बताइन् । अहिले काठमाडौंको बजारमा लगिएका खसीबोका रु.५३० देखि रु.५७० सम्म मात्रै विक्री भएको उनको भनाई छ । उनले भनिन्, ‘यो मूल्य एकदमै कम हो । यसले व्यवसायीलाई साह्रै मर्का परेको छ ।’
सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका सहकारीका सहजकर्तामार्फत घरघरमा पुगेर किसान आफैले तौलेर सहकारीलाई बिक्री गरेका थिए । महिलालाई उत्पादन र उद्यमसँग जोड्ने उद्देश्यले सञ्चालनमा रहेको सहकारीमा महिलाले २५ किलोभन्दा माथि जिउँदो खसी रु.५३५ प्रतिकिलो, २० देखि २५ किलोसम्मको रु.५१० प्रतिकिलो र बोका २० किलोदेखि माथि रु.५१० प्रतिकिलोमा घरैबाटै बिक्री गरेका थिए ।
४० किलोसम्मको खसीबोकालाई रु.५७० सम्ममा बिक्री गरिएको अध्यक्ष चन्दले बताइन् । यस वर्षको दशैंलाई लक्षित गरी बाँके र बर्दियाका महिलाले पाँच हजार खसी–बोका काठमाडौं र अन्य सहरमा पठाउने लक्ष्य लिएका थिए । तर, शनिबारसम्म तीन हजार पाँच सय खसीबोका मात्रै बाँके बाहिर पठाइएको छ । अध्यक्ष चन्दका अनुसार यसवर्ष दशैमा खसीबोका खरिद विक्री गर्न काठमाडौँको कलंकीस्थित खसी बजारसँग सम्झौता भएको थियो ।
भारतबाट अनाधिकृत भित्रिने खसीबोकाका कारण आफुहरूको उत्पादनले बजार नपाउने अवस्था देखिएको उहाँको भनाई छ । आफ्नै मेहनतले उत्पादन गरेका खसीबोका बिक्री गर्दा पनि प्रहरी प्रशासनले कागज हुँदाहुँदै कतिपय अवस्थामा अनावश्यक दुख दिने गरेको सहकारी संघकी अध्यक्ष चन्दको गुनासो छ । महिलाले उत्पादन गरेका खसीबोका सरकारी दररेट अनुसार खरिद गर्दै आएको उनी बताउँछिन् ।
उक्त सहकारीमा आवद्ध महिलाहरुले उन्नत जातको खसीबोका व्यवसायिकरुपमा पालन गरेर बिक्री गर्दै आएको उनको भनाई छ । तर, खसी, बाख्रा व्यवसायका क्षेत्रमा रहेको सिण्डिकेटले महिला किसानलाई समस्या पारेको उनको भनाई छ । सिण्डिकेट चलाउनेहरुका कारण व्यवसायिकरुपमा महिलाहरुले आफुले पालेका खसीबोका बिक्री बितरण, सही मूल्यांकन र उचित मूल्य तोक्न सकिरहेका छैनन् ।
संघकी अध्यक्ष चन्दका अनुसार ढकेरीमा आर्थिक बर्ष २०७२/०७३ देखि बाख्राको कारोबार शुरु गरिएको हो । उनका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा एक हजार २२९ खसीबोका, आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार २३५ र आर्थिक वर्ष २०७४/०७५ मा चार हजार ५०९ खसीबोका संकलन गरेर संघले बिक्री गरिसकेको छ । संघले ढकेरीस्थित संकलन केन्द्रबाट वार्षिक ३० हजार खसीबोका संकलन गरी बिक्री गर्ने योजना रहेको जनाएको छ ।
सत्यपाटी - ।