काठमाडौं । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिंग स्वदेश प्रस्थान गरेका छन् । शनिबार अपराह्न नेपाल ओर्लिएका सी आइतबार दिउँसो एयर चाइनाको विशेष विमानमार्फत बेइजिङ फर्किएका हुन् । राष्ट्रपति सीलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर विदाइ गरेकी हुन् ।
सीको विदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सो क्रममा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । सांस्कृतिक झाँकी र कार्यक्रमसहित विमानस्थलमा सीको विदाइ गरिएको हो । यसअघि शनिबार पनि सीको स्वागतका लागि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विमानस्थलमै पुगेका थिए ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । राष्ट्रपति सीको भ्रमणको दौडान नेपाल र चीनबीच १८ वटा समझदारीका दस्तावेज र दुइवटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर तथा आदानप्रदान भएका छन् । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार समझदारीपत्र आदानप्रदान भएको थियो । दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ ।
त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ । यसबाहेक स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।
नेपाल र चीनबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा आज नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने सहमति भएको बताइएको छ । भ्रमणका क्रममा राष्ट्रपति सीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, सत्तारूढ दलका नेतालगायतसँग भेटवार्ता गरेका थिए ।
यस्तो छ, समझदारी
नेपाल र चीनबीच १८ समझदारी पत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ । आइतबार काठमाडौँ होटल सोल्टीमा आयोजित विशेष समारोहमा दुई देशबीच २० समझदारीमा हस्ताक्षर भएको हो ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी हस्ताक्षर भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
यी हुन् नेपाल र चीनबीच भएका १८ समझदारी र दुई लेटर अफ एक्सचेन्ज
१, नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता भएको छ ।
२, नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू) भएको छ ।
३, नेपाल र चीनबीच आपराधिक मामिलामा दुईपक्षीय कानुनी सहायताको सन्धि भएको छ ।
४, नेपाल र चीनबीच सगरमाथारचोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी भएको छ ।
५, लगानीका मुख्य परियोजनालाई प्रवद्र्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ ।
६, चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको छ ।
७, नेपाल–चीन सिमापार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको छ ।
८, काठमाडौं महानगरपालिका र चीनको नाञ्जिङ सहर बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ ।
९, बुटवल उपमहानगरपालिका र चीनको जियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ ।
१०, परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिस्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच समझदारी भएको छ ।
११, नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी भएको छ ।
१२, चीनको सुप्रिम पिपुल्स प्रोसिक्युटर कार्यालय र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी भएको छ ।
१३, नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्युट हेडक्वार्टर्सबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौता भएको छ ।
सत्यपाटी - ।