बाँके । बाँके क्षेत्र नम्बर ३ ‘क’बाट निर्वाचित भएका ५ नम्बर प्रदेश सांसद इन्द्रप्रसाद (आइपी) खरेलले लगाएको धान बाली पसाएको छैन । उनले लगाएको गरिमा जात भनिएकोे धान हालसम्म पनि नपसाउँदा चिन्तित बनेका छन् । गरिमा जातको धानको बीउ आफैले खरिद गरेर खेती गरेका सांसद खरेललाई १२५ दिनमा पाक्छ भनेर व्यापारीले विक्री गरेका थिए ।
अहिले १५० दिनभन्दा पनि बढि समय पुग्दा पनि धान पसाएको छैन । धान नपसाउँदा अर्को बाली लगाउन ढिला हुने चिन्ताले सांसद खरेललाई निकै सताएको छ । शुक्रबार कृषि ज्ञान केन्द्रमा आफ्नो धान नपसाएको र व्यापारीले झुक्याएर गरिमा भनेर अरु कुनै जातको धान दिएको भन्दै सासंद खरेल गुनासो गर्न पुगेका थिए ।
छिमेकीले अघिल्लो वर्ष गरिमा जातको धान लगाएर राम्रो उत्पादन गरेको देखेका प्रदेश सांसद खरेलले यसवर्ष आफ्नो खेतमा सोही जात भनेर लगाएका हुन् । प्रदेश सांसद खरेलले गतवर्ष आफ्नो खेतमा १० क्वीन्टल धान उत्पादन गरी विक्री गरेका थिए । यसबर्ष भने धानको उत्पादन सुन्य हुँदा उनी निकै छट्पटाएका छन् ।
भारतबाट आउने धान गरिमा जात नेपालमा सूचीकृत छ । खरेलले नेपालमा सूचीकृत भएको भनेर लगाएको तर ठुलो धोका खाएको बताए । खरेलले लगाएको धानबाली कृषि ज्ञान केन्द्रको प्रावधिक टोली पुगेर हेर्दा उक्त धान गरिमा जातको नभएको हुनसक्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले यो कुनै अरुनै जात हुनुपर्ने र यसको ल्याव परिक्षणपछि मात्र कुन जात हो भनेर पत्ता लगाउन सकिने बताए ।
सांसद खरेलको मात्र नभएर बाँके र बर्दियामा अरु किसानले गरिमा जात भनेर लगाएको धानमा पनि यस्तै समस्या देखा परेको छ । बाँकेमा करिव ५० विगाह क्षेफलमा धानखेती गरिएको छ भने बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा ८० विगाहा र ठाकुरबाबा नगरपालिका क्षेत्रमा ४० विगाह क्षेत्रमा किसानले लगाएको धान पसाएको छैन ।
ज्ञान केन्द्र प्रमुख ढकालले एक जातको बीउलाई अर्को जात भनेर विक्री गर्ने कम्पनी तथा व्यापारीलाई कारबाही गरिने बताए । ज्ञान केन्द्रले तत्काल एक हप्तासम्म उक्त धान नकाट्न किसानहरुलाई आग्रह गरेको छ । एक हप्तासम्म कुनै धान पसाउने संकेत नदेखिएमा काटेर अरु बाली लगाउन ज्ञान केन्द्रले किसानहरुलाई सुझाव दिएको छ ।
सत्यपाटी - ।