सूचनाको शक्ति - The Power Of Information

        

चर्चामा छोरीलाई खुट्टा ढोग्ने चलन !

विष्णु पोखरेल

नेपालगन्जमा छोरीको खुट्टामा बाबू आमाले ढोगेको कथा भाइरल भा’छ, के छोरीले बाबु या आमालाई खुट्टा ढोगाउनु असभ्य या पाखण्डपन हो र ? खुट्टा किन ढोगिन्छ, कसले कसलाई ढोग्नु पर्छ छलफल गरौं । हाम्रो समाजमा दिनहुँ, दिनदिनै नसके तिजमा भए पनि पतिको खुट्टाको जलखाने चलन थियो, केही बर्ष अघिसम्म । हुन्छ र हुन्नमा विवाद भयो, तर हुन्न भन्ने धेरै भए, खुट्टा धोएर जल खानै छाडे ।

खुट्टा धोएर निस्केको पानी पवित्र जल हुन सक्छ र ? कदापि सक्दैन । यो अति पाखण्ड नै हो, यो चलन अहिले करिब लोप भएको अवस्था छ, छोरीको बिहेमा छोरी चेलीको खुट्टा धोएर पानी खाने चलन पनि छ । तर खाने कि नखाने विवादमा छ, खाए पनि खाएझैं गर्ने या लोकलाज छल्न शिरमाथि छर्ने गरिन्छ । हात या खुट्टा धोएर निस्केको पानी पिउनु वास्तवमा फोहरी काम र असभ्य नै हो, यो चलन बिर्सनुपर्छ ।

अघिल्लो पिढी बाबु, बाजे, काका आदिको खुट्टाको स्पर्श वा दण्डवत र ढोग चाहिँ परम्परागत मर्यादित चलन नै हो । सम पिढी दाजु वा बहिनी जुवाईको चाहिँ स्वइच्छामा ढोगे पनि हात जोडी नमस्कार गरे पनि बराबर हो । यसले मर्यादाको ख्याल गर्छ, परिवारको जेष्ठ सदस्यमा सम्मान गर्छ । तर उमेरमा निकै सानो दोस्रो तेस्रो पिढीलाई खुट्टामा ढोग्नु ठीक होइन, व्यवहारिक पनि होइन । आफुभन्दा दोस्रो पिढीका छोरी, जुवाई, भान्ज–भान्जी भतिजी आदिलाई खुट्टामा ढोग्न जरुरी छैन, हाम्रा पुराणहरुमा पनि वर्णित छैन ।

तसर्थ हाम्रा अति प्रिय चलन मानौ । तर समाजलाई भद्दा नलाग्ने गरी, अझ हात खुट्टा धोएको पानी त खानै हुन्न, चलन भन्दैमा अगतिला काम त बन्द हुनैपर्छ नि ! सतिप्रथा बन्द भएकै हो, कमारो, बँधुवा, हलिया, कमैया बन्द भइरहेका छन् । छोइछिटो बन्द हुँदैछ भने खुट्टा धोएर पानी खादा बैकुण्ठ जान्छु भन्ने कुरा पनि बिर्सिन जरुरी छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार १५:४९