सूचनाको शक्ति - The Power Of Information

        

मध्यपश्चिममा पेट्रोलियम खपत तीन गुणा बढ्यो, पेट्रोल र डिजल उच्च

बाँके । पछिल्ला पाँच बर्षको अवधिमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । नेपाल आयल निगम नेपालगन्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ ।

नेपालगन्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ९७ हजार ३९० किलोलिटर (एक किलोलिटरमा एक हजार लिटर हुन्छ) पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन) खपत भएकोमा गत आव २०७५/०७६ मा पेट्रोलियम पदार्थ खपत दुई लाख ४८ हजार ६०६ किलोलिटर पुगेको छ । जसमा सबैभन्दा धेरै पेट्रोल र डिजलको खपत बढेको देखिन्छ ।

निगमको यो तथ्याङ्कलाई आधार मान्दा पाँच आर्थिक वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत ४० प्रतिशतले प्रतिशतले बढेको छ । निगमका अनुसार यस अवधिमा पेट्रोलको खपत सबैभन्दा धेरै खपत भएको देखिन्छ । आव २०७१/०७२ मा तीन हजार २३२ किलोलिटर पेट्रोल खपत भएकोमा आव २०७५÷०७६ मा बढेर ३८ हजार ४१८ किलोलिटर खपत भएको छ ।

त्यस्तै आव २०७१/०७२ मा ७३ हजार १६५ किलोलिटर खपत भएको डिजल आव २०७५/०७६ मा एक लाख ६५ हजार ९४७ किलोलिटर पुगेको छ । त्यस्तै आव २०७१/०७२ मा तीन हजार २०० किलोलिटर खपत भएको हवाई इन्धन आव २०७५/०७६ मा बढेर सात हजार ८१९ किलोलिटर हवाई इन्धन पुगेको छ ।

आव २०७१/०७२ मा १७ हजार ४८४ मेट्रिक टन र आव २०७५/०७६ मा ३४ हजार ८४५ मेट्रिक टन खाना पकाउने ग्याँस नेपाल आयल निगम नेपालगन्ज डिपाको तथ्यांक छ । यस अवधिमा मट्टीतेलको खपत भने सुरुवातमा केही बढेको देखिए पनि पछिल्लो तीन आवमा खपत दर स्थीर देखिएको छ ।

आव २०७१/०७२ मा ३०९ किलोलिटर खपत भएको मट्टीतेल आव २०७२/०७३ मा झण्डै ६ गुणाले बढेर एक हजार ८३० किलोलिटर पुगेको छ । त्यसयता खपत दर करिब स्थीर रहेको छ । आव २०७३/०७४ मा एक हजार ७०३ किलोलिटर, आव २०७४/०७५ मा एक हजार ८८० किलोलिटर र आव २०७५/मा एक हजार ९३७ किलोलिटर खपत भएको छ ।

विगतमा भन्दा पछिल्लो समयमा मट्टीतेलको खपत विस्तारै खुम्चिँदै गएको नेपाल आयल निगम नेपालगन्ज डिपोका प्रमूख नवविनोद पोखरेलले जानकारी दिए । सडक निर्माण र अन्य विकासका गतिविधि बढेसँगै मट्टीतेल खपत घट्दै गएको र अन्य पेट्रोलियम पदार्थको खपत दर बढ्दै गएको उनको भनाई छ ।

‘इन्धन क्षेत्र आयातमुखी र खपतउन्मुख भएका कारण मट्टीतेलबाहेक पेट्रोलियम पदार्थको वृद्धिदर उच्च भएको छ । आर्थिक गतिविधि र विकासका काम बढेका छन्, सवारी आयातमा उच्च वृद्धि भएको छ, हामीसँग भने पेट्रोलियमको कुनै स्रोत छैन । त्यसैले पनि खपत दर उच्चरुपमा बढेको छ,’ डिपो प्रमूख पोखरेलले भने ।

पेट्रोलियमको स्रोत नभए पनि विद्युत, वैकल्पिक उर्जाका स्रोतमार्फत पेट्रोलियम आयात घटाउन सकिए पनि त्यसो नहुँदा आयात बढेको उनको भनाई छ । पेट्रोल र डिजलको खपत दर बढेसँगै नेपालगन्ज डिपोमा रहेका मट्टीतेल भण्डारण गर्ने ट्यांकीलाई पेट्रोल भण्डारणका लागि स्थानान्तरण गरिँदैछ ।

हाल नेपालगन्ज डिपोमा पेट्रोल भण्डारण क्षमता २१० किलोलिटर मात्रै रहेको छ । जुन दुई दिनका लागि मात्रै पुग्छ । मट्टीतेल भण्डारण क्षमता ७६० किलोलिटर रहेको छ, जुन १२६ दिनलाई पुग्छ । त्यसैले पनि निगमलाई पेट्रोल भण्डारण क्षमता बढाउनै पर्ने बाध्यकारी अवस्था देखिएको छ ।

अहिले निगमलाई सबैभन्दा ठूलो चुनौती भण्डारणको छ । कुनै कारणले तीन/चार दिन आपूर्ति असहज भएमा त्यसको व्यवस्थापन गर्न निगमलाई धौधौ पर्छ । यही आवश्यकतालाई ध्यानमा राखेर निगमले ८० किलोलिटर मट्टीतेल भण्डारण क्षमता राखेर पेट्रोल भण्डारण क्षमता ८९० किलोलिटर पु¥याउने भएको छ ।

‘मट्टीतेललाई घटाएर पेट्रोलको भण्डारण क्षमता विस्तारका लागि प्रक्रिया सुरु भइसकेको छ,’ डिपो प्रमूख पोखरेलले भने, ‘पेट्रोल भण्डारण क्षमता विस्तार नगर्ने हो भने हालको भण्डारणले माग धान्न पनि धौधौ पर्नेछ । त्यसका लागि भण्डारण क्षमता विस्तार अत्यावश्यक नै रहेको छ । त्यो प्रक्रिया सुरु भइसक्यो ।’

मट्टीतेलको खपत न्यून भएपछि निगमले मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गर्न सुरु गरिसकेको उनको भनाई छ । डिपो प्रमूख पोखरेलले भने, ‘अब मट्टीतेललाई पेट्रोलमा स्थानान्तरण गरिएपछि करिब १० दिनसम्म पुग्ने पेट्रोल भण्डारण हुनेछ ।’ मट्टीतेलको माग घट्दै गएपछि मट्टीतेल बोक्ने ट्यांकर पनि पेट्रोलमा रुपान्तरण हुनेछन् ।

निगमका अनुसार छुट्टै पेट्रोल ट्यांकी राख्न धेरै रकम आवश्यक पर्ने भएपछि कम लागतमा मट्टीतेल ट्यांकीलाई पेट्रोल ट्यांकीमा स्थानान्तरण गर्न लागिएको हो । पेट्रोल भण्डारण क्षमता बढेपछि उपभोक्ताहरुका लागि अझै सहजरुपमा इन्धन आपूर्ति गर्न सकिने डिपो प्रमूख पोखरेलले बताए ।

‘अहिले मट्टीतेलभन्दा पेट्रोलको माग निकै बढ्दो क्रममा रहेको छ,’ उनले भने, ‘सवारीको चापलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल भण्डारण क्षमता विस्तार सुरु गरेको हो ।’ हाल नेपालगन्ज डिपोमा डिजल दुई हजार २८० किलोलिटर, हवाई इन्धन २८० किलोलिटर भण्डार गर्ने क्षमताका ट्यांकी रहेका छन् ।

त्यस्तै बाँके र दाङ्गमा ७०८ मेट्रिक टन क्षमतामा खाना पकाउने ग्याँस भण्डारण हुँदै आएको छ । बाँकेमा रहेका दुई वटा भेरी ग्याँस उद्योगमा ५१० र मनकामना ग्याँस उद्योगमा ९०मेट्रिक टन तथा दाङ्गमा रहेको राप्ती ग्याँस उद्योगमा १०८ मेट्रिक टन ग्याँस भण्डारण गर्ने क्षमता रहेको निगमका नेपालगन्ज डिपो प्रमूख पोखरेलले बताए ।

निगमको नेपालगन्ज डिपोको तथ्यांक अनुसार खाना पकाउने ग्याँसबाहेक बाँकेमा ९८ र दाङ्गमा २८ गरी १२६ जना विक्रेता रहेका छन् । त्यस्तै ५४ जना इन्धन ढुवानीकर्ता रहेका छन् भने २० किलोलिटर क्षमताका १०८ वटा र १२ किलोलिटर क्षमताका चार वटा गरी ११२ वटा ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गरिरहेका छन् ।

निगमका अनुसार हवाई इन्धनका लागि २० किलोलिटर क्षमताका ९ वटा ट्यांकर सञ्चालनमा रहेका छन् । नेपालगन्ज डिपोले साविकको मध्यपश्चिमका बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ्ग, सल्यान, प्युठान, रुकुम, रोल्पा, जुम्ला र जाजरकोट गरी ११ जिल्लामा इन्धन ढुवानी गर्दै आइरहेको छ ।

निगमले वर्षात् सुरु भएसँगै बजारमा इन्धनको खपत घट्ने गरेका पनि जनाएको छ । वर्षातमा सडक अवरुद्ध, यात्रुको आवागमन कम हुने र विकास निर्माणका काम घट्ने भएपछि इन्धन खपत घट्ने गरेको गरेको छ । खाना पकाउने ग्यासबाहेक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धनको खपत बर्षात्मा घट्ने गरेको निगमको भनाई छ ।

बर्षात्मा बजारमा माग कम भएपछि आयात पनि घट्ने गरेको निगमले जनाएको छ । यस क्षेत्रका लागि निगमले पेट्रोल, डिजल र मट्टीलेतको आयात भारतको गोण्डाबाट गर्दै आएको छ भने हवाई इन्धन इलाहावाद र खाना पकाउने ग्याँस मथुराबाट आयात गर्दै आएको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)मार्फत इन्धन आयात गर्दै आएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार १४:५६