सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा भव्यतापूर्वक मनाइयो ६४ औं प्रहरी दिवस (फोटोफिचरसहित)

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ६४ औं प्रहरी दिवस भव्यतापूर्वक मनाएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि जिल्ला प्रहरी कार्यालय बाँकेले कर्णाली प्रदेश संघीय प्रहरी इकाईको समन्वयमा दिवस मनाएको हो ।

दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्ले प्रहरीलाई आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्न आग्रह गरे । उनले शान्ति सुरक्षालाई चुस्त बनाउन प्रहरी एक्लैले मात्र सम्भव नभएको भन्दै यसका लागि नागरिकहरुको पनि उत्तीकै भूमिका रहने बताए ।

उनले भने, ‘प्रहरीले एक्लैले शान्ति सुरक्षा कायम गरिरहेको छ, चुस्त सुरक्षाका लागि आम नागरिकहरुको भूमिका पनि उत्तीकै रहन्छ । यसका लागि नागरिक प्रहरी हातेमालो जरुरी छ ।’ प्रहरी जहिले पनि दोहोरो भूमिकामा रहने हुँदा नागरिकहरुले पनि प्रहरीको बाध्यता बुझ्नुपर्ने बताउँदै प्रजिअ खड्काले सबैको साथ र सहयोगले समाजलाई अपराधमुक्त गर्न सकिने बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले अनुसन्धान प्रविधि र स्रोत साधनको अभावमै पनि प्रहरीले अनुसन्धानलाई अपेक्षाकृतरुपमा अघि बढाउने कोशिष गरिरहेको बताए । उनले शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीको विकल्प नभएको भन्दै नेपाल प्रहरीको समृद्धिको लागि सरकारले ध्यान पुर्याउनुपर्ने बताए ।

अहिले पनि केही स्वार्थ समूहले प्रहरीलाई दुरुपयोग गर्ने गरेकोतर्फ संकेत गर्दै उनले प्रहरी शान्ति सुरक्षाका लागि सधैं कट्टीबद्ध रहेको बताए । प्रहरी उपरीक्षक ओलीले शान्ति सुरक्षा र अमनचयनपछि मात्रै विकास हुने भन्दै शान्ति सुरक्षाका लागि प्रहरीलाई सघाउन आम नागिरकलाई आग्रह गरे ।

दिवसकै अवसरमा उत्कृष्ठ काम गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै राप्तीपारि सुइया बघौडामा प्रहरी चौकी स्थापनाका लागि जग्गा दान गर्ने दुई जनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अमर प्रहरीका परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न धर्मका धर्मगुरुहरु, पत्रकार लगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार १३:२७