सूचनाको शक्ति - The Power Of Information

        

नर्सिङ स्टाफको बिरामीसँग दशैं !

विष्णु पोखरेल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका नर्सहरुले आफ्ना सेवाग्राही बिरामी तथा भिजिटरलाई दशैं टीका लगाएर शुभकामना आदान प्रदान गरेका छन् । नर्सिङ सेवा बिरामीको घाउमात्र हैन मन न भावनासम्म पुग्नुपर्छ भन्ने मिठो सन्देश दिदै हाम्रो महान राष्ट्रिय पर्व दशैमा घरदेखि टाढा भएर दशै आएको अनुभूति प्राप्त गर्न पाएकोमा बिरामीका आफन्त र भिजिटर पनि खुसी भएका छन् ।

दुख बिमारीले समय भन्दैन, दशैतिहार होलीजस्ता चाडमा यातायातको चाप र मानवीय लापर्बाहीले अस्पतालमा सडक दुर्घटनाका केसहरु बर्सेनि बढदैछन, चाडपर्वमा दुखद घटना बढदैछन, सरकारी स्वास्थ्य केन्द्रहरु यसैबेला बन्द हुन्छन्, धेरैजसो डाक्टरहरु बिदामा बस्छन्, अनकलमा आउने डाक्टरबाहेक अस्पतालमा मुख्यतः नर्सिङ स्टाफकै सेवाको भर हुन्छ । बर्षदिनको चाडमा अनुनय बिनय गरेपनि बिदा पाउने अवस्था रहदैन नर्सहरुको, तर पनि निकै फूर्ति, परिपक्वता, लगनशीलताको साथसाथै पारिवारिक स्नेह दिन खोज्नु ठुलो कार्य हो, स्तुत्य कर्तव्य हो ।

उसो त प्राइभेट अस्पतालका नर्सिङ स्टाफको व्यवहार रुढ हुन्छ । कसरी बिल बढाउने भन्ने ध्यय हुन्छ ? आफुले भनेको पसलबाटै औषधि ल्याउ भन्छन्, सोधेको सवालको स्पष्ट जवाफ दिन्नन् आदि गुनासो पनि आउने गर्छन्, सयौं जनाको संगठनमा एक दुईजनाको लापर्बाही होला, तर समग्रमा बिरामीको अवस्था सुधार्न नर्सिङ केयर नै उत्कृष्ट सेवा बनेको छ । नर्सिङ केयर उत्कृष्ट भएमा बिरामी र भिजिटरको अवस्थामा छिटो सुधार आउँछ र अस्पतालको छवि पनि उज्यालो हुन्छ ।

तिज, दशैं, तिहार, होली,जस्ता पर्व अस्पतालका बेडमा मनाउन मेडिकल मान्यतामा ठिक हो या हैन यो पंक्तिकारलाई थाहा भएन, तर पर्वहरुमा प्रियजन र परिवारलाई चटक्कै छाडेर उपचारमा बसेका सेवाग्राहीलाई भावनात्मक सहयोग र आफ्नोपन मनग्गे हुने हुदा फोहर, हल्ला तथा भिड नहुने गरि यस्तो कार्य नर्सिङ स्टाफका साथसाथै अस्पताल व्यवस्थापन समेत पहल गर्दा अस्पतालहरुलाई थप सामाजिकीकरण गर्न सकिन्छ, दशैंमा शुभकामना बाडने नर्सिङ स्टाफको उत्कृष्ट कार्यको सराहाना गरौं ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार ११:४५