बिष्णु पाेखरेल
नेपालगन्ज बहुधर्मी, बहुभाषिक, बहुसाँस्कृतिक सहर हो । अझ २४ भन्दा बढी पहाडी जिल्लाबाट झरेका पहाडी समुदाय, गोरखपुर अवधबाट सदियौंदेखि आएका मधेसी समुदाय, राजस्थान उद्गम भएका मारवाडी समुदाय, विभिन्न कालखण्डमा बसाइँसराइ गरि आएका थारु, सरदार, मुस्लिम, घसियारा, चिडिमार, कुशबधिया, आदि दर्जनौ समुदायको सहर हो । मिश्रित समुदायको बसोबास भएको क्षेत्र हो ।
यहाँ प्राचीनकालदेखि सडक चोकमा स्थापना हुने दुर्गा मूर्ति, सहर स्थापनाकाल १५२ बर्षदेखि निरन्तर प्रदर्शन गरिएको रामलिला तथा रावण बध, शदियौंदेखि सञ्चालित मोहर्रम, ईद, बकरइद, श्यामबाबा लस्कर, गुरुनानक पुजा, गुडिया, भण्डारा लगायत मधेसी चलन तथा पर्वहरु र तीज, दशैतिहार, होली, रक्षाबन्धनजस्ता राष्ट्रिय पर्वहरु अति सदभाव र समन्वयको साथमा सम्पन्न हुन्छन् ।
चाडपर्व लगायतका कार्यक्रम सम्पन्न गर्दा एक समुदायले अर्काे समुदायलाई सहयोग गर्छन्, मोहरममा हिन्दुहरुले मुस्लिमलाई साथ दिन्छन् भने दशैको दुर्गा मूर्तिहरु विसर्जन गर्दा मुस्लिम समुदायबाट पानी पिउने व्यवस्थापन हुन्छ । यो सद्भाव नेपालगन्जमा रहेको अतुलनीय निधि हो । सद्भाव कायम राख्न यहाँका सचेत नागरिकको अनवरत प्रयास पनि भइरहेको छ ।
समाजका राजनीतिक, उद्योगी, व्यापारी, पेसागतरुपमा प्रतिष्ठित वर्ग, गैरसरकारी क्षेत्र, धार्मिक अनुष्ठानका अगुवाहरुको उत्कृष्ट समन्वय छ, सहकार्य छ, निरन्तर अनुगमन छ । सामाजिक सदभावले आर्थिक कायापलट गर्न सहजता ल्याउछ भन्नेमा यहाँका जनप्रतिनिधिदेखि नागरिकले राम्रोसँग बुझेका छन् । मेयरदेखि वडाध्यक्षसम्म अरु धर्मको पर्वमा सहजै सरिक हुन्छन्, काममा साथ दिन्छन्, मर्दापर्दा वा बिहेजस्ता कार्यमा सहभागी हुन्छन् ।
बिष्णु पोखरेल - ।